आर्थिक रुपान्तरणको बलियो आधार ऊर्जा, पर्यटन, कृषि र प्रविधि: अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि रहेको बताए । बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित ‘नेपालमा आर्थिक रुपान्तरणका आधारहरू सुशासन, ऊर्जा, कृषि, पर्यटन र श्रम तथा रोजगार’ विषयक विचारगोष्ठीमा मन्त्री डा.महतले मुलुकको आर्थिक विकासलाई नेतृत्व गर्ने बलियो आधार कृषि रहेको उल्लेख गरे ।

‘मुलुकमा लोकतन्त्र स्थापना अगाडि राजनीति केन्द्रित बहस हुने गरेको थियो । तर संविधान निर्माणपछि आर्थिक क्षेत्रमा पनि बहस हुन थालेको छ’, उनले भने ‘ आर्थिक रुपान्तरणको सुदृढ पक्ष कृषि हो । कृषिमा रुपान्तरणकारी परिवर्तन ल्याउन लगानीअनुरुपका प्रतिफल ल्याउने खोजी हुुनुपर्छ । कृषिमा आत्मनिर्भर हुन जरुरी छ ।’

मन्त्री डा. महतले आधुनिक प्रविधिअनुरुप व्यावसायिक खेती गरी उत्पादकत्व बढाउन आवश्यक रहेको उल्लेख गर्दै भौगोलिकताका आधारमा कृषियोग्य जमिनको पहिचान गरी कृषि क्षेत्रको औचित्य पुष्टीगर्न आवश्यक रहेको बताए ।

ऊर्जा, पर्यटन, कृषि, प्रविधि मुलुकको आर्थिक रुपान्तरणको बलियो आधार खम्बा रहेको बताउँदै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन यी चार खम्बाको महत्त्वपूर्ण भूमिका रहने मन्त्री डा.महतको भनाइ थियो ।

प्रजातान्त्रिक समाजवादमा निजी क्षेत्रलाई उत्पादनको नेतृत्व प्रदान गरी न्यायोचित वितरणका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रलाई सुदृढीकरण गर्न सरकारले सहजीकरण, सबलीकरण गर्ने बताए ।

गोष्ठीमा कृषि मूल्य शृङ्खला विज्ञ डा बद्री बस्ताकोटीले मुलुकको निर्वाहमुखी कृषि प्रणालीलाई फलदायी बनाउन सिँचाइको पर्याप्तता, कृषिको व्यावसायीकरण, लगानीमा सुनिश्चितता आवश्यक रहेको औँल्याए ।

‘विगतको तुलनामा कृषि क्षेत्रमा अधिकतम सुधार भएको छ तर अपेक्षाअनुरुपको हुनसकेको छैन । कृषिको प्रसार गर्न जरुरी छ । कृषि प्रणालीलाई फलदायी बनाउन तीनै तहका सरकारले कृषि बजेटको नीतिगत सुनिश्चितता गर्न आवश्यक छ, उनले भने ।

नेपाल किसान संघका पूर्वअध्यक्ष डा भानुभक्त सिग्देलले बिपीले देखाएको समाजवादको आधारशीला कृषि र किसानबाट खोज्नुपर्ने भन्दै दिँदै कृषिमा लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । कृषिमा रुपान्तरण गर्न कृषि दशक घोषणा गरी अघि बढ्न आवश्यक रहेको उनले औँल्याए ।

नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटन क्षेत्रलाई सुदृढ बनाउन बाह्य मुलुकसँग कूटनीतिक सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिनुभयो । उनले हिलस्टेशन प्रभावकारीरूपमा सञ्चालन गर्न सकेमा पर्यटकीय क्षेत्रमा मुलुकले ठूलो उपलब्धि हासिल गर्न सकिने जिकिर गरे । साथै पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए ।

प्रतिष्ठानले सञ्चालन गरेको दुईदिने गोष्ठीमा शुक्रबार ऊर्जा, सुशासन विषयमा छलफल गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स