काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको बताएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री महतले सो कुरा बताएका हुन् ।
उनले अर्थतन्त्र सकारात्मक दिशातर्फ अगाडि बढिरहेको बताएका छन् । ‘बैंकिङ क्षेत्रमा सुधार आएको छ, ब्याजदर घटिरहेको छ, बिप्रेषण मुद्रा बढेको छ, सोधानान्तरमा सुधार भइरहेको छ, पर्यटन क्षेत्रमा सुधार आएको छ,’ उनले भने ।
आर्थिक सुधारको विषयमा तत्काल परिणाम निस्कन्न,’ डा. महतले भने, ‘जति सूचक छन्, सकारात्मक छन् । सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि बढ्छ, बजेट व्यवस्थापनमा चुनौती भने छन् ।’
बजेट पद्दतिलाई चुस्त बनाउन अझै केही समय लाग्ने उनले बताए । ‘सूचक सकारात्मक बन्दै गए पनि लक्ष्यअनुसार सूचक आएनन्, तथापि प्रगति छ,’ उनले भने ।
उनले बैंकिङ क्षेत्रमा सुधार आएको, तरलता पर्याप्त रहेको, ब्याजदर घट्दो क्रममा रहेको, पर्यटन क्षेत्र सुधार उन्मुख रहेको, पौषसम्म ५ लाख बढी पर्यटक भित्रिएको, महँगी ६.५ प्रतिशतमा सिमित गर्ने लक्ष्यमा ५.८ प्रतिशत कायम गर्न सफल रहेको, कर्जा प्रवाह बढेको तथा २.६ प्रतिशतले आन्तरिक कर्जा प्रवाह बढेको उल्लेख गरे ।
उनले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ४ प्रतिशतले बढेको तथा २४ अर्ब बढीको नयाँ धितोपत्र स्वीकृत भएको छ, बजार पुँजीकरण ३३ खर्ब पुगेको र लगानीकर्ताको विश्वास बढ्दै गएको बताए ।
‘पर्यटन क्षेत्रमा सुधार भएको छ । मूल्यवृद्धि नियन्त्रणमा छ,’उनले भने,‘ कर्जा प्रवाहमा चिन्ता थियो, तर आगामी दिनमा अझै बढ्छ भन्ने ‘कन्फिडेन्स’ बढाउनु जरुरी छ ।’
‘विप्रेषण बढी चलायमान हुँदा आर्थिक गतिविधि बढ्छ, वस्तु आयात घटेको छ, निर्यात घटेको छ,’ महतले भने, ‘निर्यात कम हुनुमा उत्पादनशील क्षेत्रले गति नलिँदा कम भएको हो । आयातमा गैरभन्सार चुहावटको आशंका गरिएको छ । सरकारको खर्चमा सबैको चिन्ता छ । समग्र खर्च ३२.५७ प्रतिशत छ ।
अर्थमन्त्री महतका अनुसार राजस्व संकलन ७७.४ प्रतिशत मात्र छ । राजस्व वृद्धिदर ९.६७ प्रतिशत छ । इलेक्ट्रिक सवारीमा गरिएको प्रोत्साहनको कारण राजस्व अपेक्षा अनुसार नबढेको उनले बताए। ‘इन्धन गाडीको आयातमा ३ सय प्रतिशतसम्म कर लाग्थ्यो, अहिले इन्धन गाडीको आयात कम हुँदा राजस्व जति बढ्नुपर्ने हो, त्यति बढ्न नसकेको हो ,’ उनले भने ।
उनले आर्थिक वर्ष सकिन ६ महिना मात्रै बाँकी रहेकोले सरकारको लक्ष्य अनुसारको आम्दानी नहुने र खर्च पनि कठिन हुने देखिएको बताएका हुन् । उनले १५ खर्ब २० अर्ब मात्रै खर्च हुने अनुमान गरेका छन् ।
अर्थमन्त्री डा. महतले चालु आवमा ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताए । चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब ६२ करोड मात्रै खर्च हुने बताए ।
जसमध्ये पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने उनको भनाइ छ । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.८४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताए ।
वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान उनको छ । उनले सरकारले लक्ष्यअनुसार नै आन्तरिक ऋण उठाउने अवस्था देखिएकाले राजस्व लक्ष्यभन्दा कम करिब १० खर्ब ६९ अर्ब मात्रै उठ्न अनुमान रहेको बताए ।