काठमाडौं । वाणिज्य बैंकहरूले फागुन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । फागुन महिनाको लागि हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले मुद्दती र संस्थागत दुबै निक्षेपको ब्याजदर स्थिर राखेका छन् अन्य सबै बैंकले ब्याजदर घटाएका छन् ।
२० वाणिज्य बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा यी बैंकहरूको औषत ब्याजदर ०.४० प्रतिशत विन्दु घटेको छ भने संस्थागत निक्षेपमा ०.३७ प्रतिशतले घटेको छ ।
माघ महिनामा ८.१६ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दती निक्षेपमा औषत ब्याजदर, फागुनमा घटेर ७.७५ प्रतिशतविन्दुमा सीमित भएको छ । संस्थागत मुद्दती निक्षेपमा पनि बैंकहरुको औषत ब्याजदर ०.३७५३ प्रतिशतविन्दुले घटेको छ ।
फागुन महिनामा ११ बैंकको व्यक्तिगत निक्षेपको ब्याजदर ८ प्रतिशतभन्दा माथि छ भने अन्य बैंकको ब्याजदर ७ प्रतिशतदेखि माथि रहेको छ । संस्थागत निक्षेपमा भने ६.१५ प्रतिशतदेखि ५.४ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।
फागुन महिनाका लागि सर्वाधिक ब्याजदर घटाउने बैंक सिटिजन्स बैंक रहेको छ । फागुन महिनामा सबैभन्दा बढी ब्याज दिने बैंक एनएमबि बनेको छ । एनएमबि बैंकले फागुन महिनाको लागि व्यक्तिगत निक्षेपमा ८.५ प्रतिशत ब्याजदर तोकेको छ भने सिटिजन्स बैंकले ८.२५ प्रतिशत र हिमालयन बैंकले ८.१३ प्रतिशत ब्याजदर तोकेको छ । माघ महिनामा एनएमबि बैंकले व्यक्तिगत निक्षेपमा ९ प्रतिशत ब्याज दिएको थियो ।
माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ९.१५ प्रतिशत ब्याज दिएको सिटिजन्स बैंकले फागुन महिनामा अधिकतममा ८.२५ प्रतिशत ब्याज दिने भएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.९० प्रतिशतविन्दु घटाएको छ भने संस्थागतमा ०.४५ प्रतिशतले ब्याजदर घटाएको छ ।
कृषि विकास बैंकले व्यक्तिगत निक्षेपमा फागुन महिनामा ६.४५ प्रतिशत ब्याजदर तोकेको छ भने नेपाल बैंकले ७.२५ प्रतिशत, नेपाल राष्ट्रिय बैंक र स्टयाण्डर्ड चार्टर्ड बैंकले ७.३५ प्रतिशत, प्राइम कमर्शियल बैंकले ७.४ प्रतिशत, सानिमा बैंकले ७.५१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ८ प्रतिशत, प्रभु बैंकले ७.५ प्रतिशत, ग्लोबल बैंकले ७.६ प्रतिशत ब्याज दिने भएको छ ।
त्यस्तै नबिल बैंकले ७.७५ प्रतिशत, नेपाल एसबिआई बैंकले ८.१ प्रतिशत, कुमारी बैंकले ८.०१ प्रतिशत, सिद्धार्थ बैंकले ८ प्रतिशत ब्याजदर दिने भएको छ भने एनआईसी एशिया ८.१५ प्रतिशत ब्याज दिने भएको छ ।
ब्याजदर स्थिर राखेको बैंक चार बैंकले पनि फागुन महिनामा ८ प्रतिशत ब्याजदर दिने भएका छन् ।