काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको खुद नाफा ३६.१० प्रतिशतले बढेर १७ करोड ६४ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ९६ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद बिमा शुल्क आर्जन बढेसँगै यस कम्पनीको खुद नाफा बढेको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद बिमा शुल्क आर्जन १०२.३८ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ८५ लाख १४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड ७५ लाख १७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १०९.७२ प्रतिशतले बढेर २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ८.२१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११९.९२ रुपैयाँ रहेको छ ।