नेपाल बंगलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।
बैंकले मंसिर २ गते बिहीबार आफ्नो रजिष्टर्ड कार्यालय, कमलादीमा २७ औं वार्षिक साधारण सभा डाकेको हो । सो सभा बिहान ११ बजे अनलाइनको माध्यमबाट सञ्चालन गरिनेछ भने निर्वाचन भौतिक रुपमा सञ्चालन गरिनेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस सेयर र लाभांश प्रयोजनार्थ बुकक्लोज सहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १५ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
साथै बैंक साधारणसभाले मर्जरको एजेण्डालाई समेत छलफल गर्ने बताइएको छ ।