काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर)ले आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतिशत अर्थात प्रतिसेयर अंकित मूल्य १०० रूपैयाँ दरको १५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले यस कार्यका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्काशन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतापत्रमा बुढानिलकण्ठ हेरिटेज लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बाबुकाजी कार्की र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले हस्ताक्षर गरेका छन् ।
वि.सं. २०७५ सालमा प्रा.लि.को रुपमा दर्ता भई वि.संं २०७८ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको बुढानिलकण्ठ हेरिटेज लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नं. १, काठमाडौंमा रहेको छ । संस्थापकहरुको ८५ करोड लगानी रहेको यस कम्पनीको प्राथमिक शेयरको सार्वजनिक निष्काशन पश्चात् चुक्तापुँजी १ अर्ब पुग्नेछ ।
अन्तरराष्ट्रिय चेन होटेल अन्तर्गत लेमन ट्री प्रिमियरको ब्राण्डबाट सञ्चालन गरी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले बुढानिलकण्ठ क्षेत्रमा पहिलो ५ तारे होटल निर्माण गरेको छ ।
आन्तरिक व्यवस्थापन तथा व्यवसाय प्रबद्र्धनका लागि कम्पनीले भारतको चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड लेमन ट्रि होटल्स लिमिटेडलाई नियुक्त गरेको छ भने लेमन ट्रि ब्राण्डमा विश्वका ५० भन्दा बढी मुलुकका १५० भन्दा बढी होटलहरु सञ्चालनमा छन् ।
लेमन ट्री होटल्स लिमिटेड एक विशाल भारतीय होटल सञ्जाल भएको कम्पनी रहेको र जसले उच्चस्तरिय, अपर–मिडस्केल, मिडस्केल र ईकोनोमी सेगमेन्टहरूमा काम गर्दछ । यस ग्रुपले आफ्ना पाहुनाहरूको आवश्यकताहरूलाई मध्यनजर गर्दै लेमन ट्री प्रिमियर लगायत विभिन्न ७ वटा ब्राण्डहरु समेत सञ्चालनमा ल्याएकोे छ ।
लेमन ट्री होटल्स लिमिटेडले नेपालमा पहिलो होटलको रुपमा ‘लेमन ट्री प्रिमियर बुढानिलकण्ठ’ काठमाडौंको फ्रेन्चाईज तथा म्यान्चाईजको जिम्मा लिइसकेको छ । यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी तथा ख्यातिप्राप्त व्यक्तिहरुको लगानी छ ।