प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीहरुको आईपीओ निष्काशन गर्न अनुमती दिनुपर्छ: महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीहरुको आईपीओ निष्काशन गर्न अनुमती दिन आग्रह गरेका छन् । बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपालको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले सो कुरा बताएका हुन् ।

‘आईपीओमा जाने प्रकृयामा रहेका कम्पनीहरुको आईपीओ रोकिएको छ । यो प्रकृयामा रहेका कम्पनीहरुको आईपीओ जारी गर्न खुल्ला गर्नुपर्छ । अहिले करिब २५र३० वटा कम्पनीहरु आईपीओमा लैजानका लागि प्रकृयाको अन्तिम चरणमा पुगेर रोकिएको अवस्था छ । यसलाई तत्काल अगाडि बढाउन आग्रह गर्दछु,’ उनले भने ।

मुलुकमा लगानीको वातावरण निर्माण गर्न निजी क्षेत्रको तर्फबाट दिएका सुझावहरुअनुसार कानून संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष ढकालले लगानी सम्मेलन अगाडि अध्यादेश वा नियमित प्रक्रियाबाट जसरी हुन्छ कानून सम्शोधन गरेर सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

‘लगानी सम्मेलनको लागि निजी क्षेत्रतर्फबाट हामीले १२ वटा कानूनहरु संशोधन गरी लगानीको वातावरण बनाउन सरकारलाई सुझाव दिएका छौं । लगानी सम्मेलन अगाडि नै यी कानूनहरु संशोधन गर्न सकियो भने यसले वातावरण बनाउन सहयोग गर्नेछ र लगानी ल्याउन सहयोग गर्नेछ ’, उनले भने ।

उनले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रहँदारहँदै पनि आम उपभोक्ता र लगानीकर्ता दुवैको मनोबल बढ्न नसकिरहेको अहिलेको अवस्थामा सरकारको तर्फबाट सकारात्मक सन्देशमात्र दिँदा पनि आम लगानीकर्ता र उपभोक्तामा केही कन्फीडेन्स आउने बताए ।

उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न पर्दैन भनेर केही व्यक्तिले दिएको अभिव्यक्तिले आम जनतामा अन्योल सिर्जना गरेको बताए । ‘निजी क्षेत्रको मनोबल गिरेको अवस्था छ । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो हुन सकेको छैन । अहिलेको अवस्थामा लगानी बढ्न सम्भव छैन । यसका लागि लगानीको वातावरण बनाउन जरुरी छ । नकारात्मक कुराहरु निस्तेज गर्दै सरकारले लगानीको वातावरण निर्माण गर्न विशेष ध्यान दिन आवश्यक छ,’ उनले भने ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स