काठमाडौं । सिउरी न्यादी पावरले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।
माघ २२ गते सो सम्बन्धी सम्झौतापत्रमा दुई संस्थाबीच हस्ताक्षर भएको छ । उक्त सम्झौता–पत्रमा सिउरी न्यादी पावरका तर्फबाट कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँ तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् ।
हाल अधिकृत तथा जारी पुँजी ६ अर्ब १९ करोड ६० लाख रुपैयाँ उक्त हाइड्रोपावरले जारी पुँजीको ४९ प्रतिशत अर्थात् ३ अर्ब ३ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्दैछ । कम्पनीले प्रतिअंकित मूल्य एक सय रुपैयाँ दरका ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा गएका नेपालीहरु, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने छ ।
नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँले बताएका छन् । ४०.२७ मेगावटको उक्त आयोजनाको हालसम्म करिब ५५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न भइसकेको तथा सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तीव्र गतिमा निर्माण कार्य भइरहेको छ ।