काठमाडौं । कारागार कार्यालय नख्खु ललितपुरमा निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पतालले कारागारमा ४ दिने निःशुल्क आँखा शिबिर संचालन गरेको हो ।
शिबिरमा कारागारमा रहेका ८१६ जना कैदीबन्दीहरुको आँखा जाँच गरिएको थियो । आँखा जाँच गरिएकामध्य करिब ५० प्रतिशत कैदीबन्दीहरुमा दृष्टिदोषको समस्या देखिएको छ । अस्पतालकी अध्यक्ष एबं आँखा रोग बिषेशज्ञ प्रा.डा सबिना श्रेष्ठका अनुसार ४०० जना कैदीबन्दीहरुमा दृष्टिदोषको समस्या देखिएको छ भने ९ जना मोतिबिन्दुका बिरामी भेटीएका हुन् ।
अस्पताल व्यवस्थापक दिपक बोहोराका अनुसार १४८ जनालाई निःशुल्क चस्मा बितरण गरिएको छ भने शिबिरमा भेटिएका ९ जना मोतिबिन्दुका बिरामीहलाई अप्रेसनको सेवा समेत निःशुल्क उपलब्ध गराईनेछ ।
‘सामान्यत बर्षमा दुई पटक सबैले नियमित आँखा परिक्षण गर्नुपर्छ तर कारगारमा रहेका कैदीबन्दीहरु बर्षौदेखी आँखा उपचारको पँहुचबाट टाढा रहेको थाहा पाएपछि हामिले वहाँहरुलाई आँखा स्वास्थ्यको पहुँचमा ल्याउन निःशुल्क शिबिरको आयोजना गरेका हौ’ प्रा.डा श्रेष्ठले भनेो ।
प्रोफेशनल सपोर्ट सर्भिस नेपालको समेत सहयोगमा सञ्चालन गरेको उक्त शिबिरमा प्रा.डा श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा परिक्षण गरेको थियो ।
वि.स २०३५ सालमा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्य सहित एक गैर नाफामुलक संस्थाका रुपमा स्थापना भएको नेपाल नेत्रज्योति संघ अन्तरगत हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरु संचालनमा छन् । संघ अन्तरगतका आँखा अस्पताल, आँखा उपचार केन्द्र मार्फत बार्षिक ३० लाख बढि बिरामीको आँखा जाँच हुने गर्दछ ।
स्थापना देखि सन् २०२२ सम्ममा संघको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।