काठमाडौं । पशु अधिकार संस्था ‘स्नेहाज केयर’ ले ‘भिगन फेष्टिभल’ आयोजना गर्ने भएको छ । संस्थाले आज काठमाडौंको बौद्धस्थित उत्पला क्याफेमा पत्रकार संम्मेलन गर्दै आगामी फागुन १९ गते (मार्च २) शनिवारका दिन उक्त कार्यक्रम गर्ने जानकारी दिइएको हो ।
उत्पला क्याफेको प्राङ्गणमा हुन गइरहेको सो महोत्सवमा वनस्पतिमा आधारित खानाका परिकार तथा सामग्रीहरूको प्रदर्शनी गरिने छ । साथै, यस महोत्सवमा भिगन सामग्रीहरूको विक्रीवितरणका लागि स्टल पनि राखिने संस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिइन् । महोत्सवमा लाइभ म्युजिक, नृत्य, वृत्तचित्र प्रदर्शनीका साथै बालबालिकाका लागि प्रतिस्पर्धात्मक खेलहरू पनि खेलाइने उनको भनाइ छ ।
सम्मेलनमा महोत्सवको उदेश्यमाथि प्रकाश पार्दै श्रेष्ठले भने, ‘मानिसले आफ्नो स्वास्थका लागि पनि वनस्पतिमा आधारित खाना खानु पर्छ । वनस्पतिमा आधारित खाना खाँदा मानव स्वास्थमा पुग्ने फाइदाका बारेमा जनमानसमा जनचेतना फैल्याउनका लागि पनि यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।’
सम्मेलनमा नेपाल होमस्टेका प्रवन्ध निर्देशक बिकेश श्रेष्ठले आफूले विगत २२ वर्षदेखि भिगन भएको र वृद्ध हुदै गएको शरीर झन तन्दरूस्त रहेको जानकारी दिए । उनले भने, ‘म विगत २२ वर्षदेखि भिगन छु । वनस्पति जन्य खानेकुरा मात्र खाने गर्छु । यो उमेरमा पनि मेरो शरीरमा कुनै किसिमको रोग छैन् । अहिले पनि म नियमित हाईकिङ गइरहेका छु ।’
यसैगरी कार्यक्रममा बोल्दै भेज तथा भिगन खानाका लागि प्रख्यात रेष्टुरेन्ट उत्पला क्याफेका म्यानेजर दीपक बोहराले उत्पला क्याफेमा ८० प्रतिशत खाना भिगन बन्ने जानकारी दिए । भिगन उत्पादनका लागि क्याफेको सधैँ सहयोग रहने पनि उनले जानकारी गराए । स्नेहाज कियरले विगत ८ वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आएको छ ।
स्नेहाज केयरले पशुपंक्षीहरूको उपचार, उद्धार तथा पुनस्र्थापना, सामुदायिक कुकुरहरूको जनसंख्या नियन्त्रणका लागि बन्ध्याकरण, रेविज विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आइरहेका छ । साथै, बेबारिसे गाई बाच्छाहरूको उद्धार, उपचार तथा पुनस्र्थपना, लामो दुरीमा गरिने पशु ढुवानीमा निग्रानीलगायतका कार्यक्रम गर्दै आएको जानकारी दिएको छ । यस्तै, स्नेहा केयरले पशु कल्याणका लागि कानुनको अभाव रहेको भन्दै सरकारलाई पशु अधिकारका लागि कानुन बनाउनका लागि दवाव दिंदै आएको छ ।