काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ९ वटा वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि रहेको छ । चालु आवको समीक्षा अवधिमा मर्जरमा गएका वाणिज्य बैंकहरूको खराब कर्जा बढी बढी देखिएको छ । कुमारी, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आईएमई र लक्ष्मी सनराइज बैंकको खराब कर्जा साढे ४ प्रतिशतमाथि ५ प्रतिशतको नजिक रहेको छ ।
मर्जरमा गएका यी बैंकलाई कर्जा रिकभरी गर्न सकस भएको बैंकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ । राष्ट्र बैंकको कानुनी व्यवस्थाअनुसार बैंकहरूको खराब कर्जा ५ प्रतिशत भन्दा माथि पुगेमा त्यस्ता बैंकहरूलाई शीघ्र सुधारात्मक कारवाही हुन्छ ।
बैंकिङ क्षेत्रमा देखिएको यो समस्या क्षेत्रगत रुपमा अध्ययन गरेर त्यसको सुधारमा लाग्नु पर्ने नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहालले बताए । ‘कुन क्षेत्रको कारणले एनपीए बढेको हो, त्यस क्षेत्रगत रुपमा अनुसन्धान गरेर गम्भिर उपचारमा लाग्नु पर्छ’, उनले भने ‘सबैभन्दा पहिला रोगको डाइग्नोसिस गर्नु पर्यो, त्यसपछि कुन उपचार विधिबाट उपचार गर्ने हो, त्यो खोज्नु पर्छ ।
अहिले हामी समस्या छ मात्रै भनिरहेका छौं । तर, कुन क्षेत्रबाट बढी समस्या आएको हो त्यो अनुसन्धानबाटै थाहा हुने हो । अहिले यो समस्यमा विषयमा अर्थ मन्त्रालय र राष्ट्र दुबैले क्षेत्रगत रुपमा समस्या समाधानको उपाय खोज्नु पर्छ ।’
‘एनपीएमात्रै बढेको छैन, गैर बैंकिङ सम्पत्ति, वितरणयोग्य नाफा पनि घटेको छ’, उनले थपे ‘ राष्ट्र बैंकले दिएको सुविधाबाट कतिपय कर्जा पुनःसंरचना र पुनः तालिकीकरण भएका छन् ।’
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरूको औसत खराब कर्जा बढेपनि चालु आवको पछिल्लो ३ महिनाको तुलनामा घटेको छ । बैंकहरूको सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार असोज मसान्तको तुलनामा पुस मसान्तमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा अनुपात ०.०७ प्रतिशत विन्दुले तल झरेको छ । असोज मसान्तमा ३.३४ प्रतिशत रहेको औसत खराब कर्जा पुस मसान्तमा ३.२७ प्रतिशतमा ओर्लिएको हो । यद्यपि, गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा भने खराब कर्जा अझै बढेको देखिन्छ ।
बैंकहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार १ वर्षमा औसतमा खराब कर्जा अनुपात ०.९७ प्रतिशत विन्दुले बढेको छ । २०७९ पुस मसान्तमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा २.३० प्रतिशत रहेकामा २०८० को पुसमा ३.२७ प्रतिशत पुगेको हो ।
चालु आवको पहिलो त्रैमासको तुलनामा ९ वटा बैंकले घटाए खराब कर्जागत असोज मसान्तयता ३ महिनाको अवधिमा ९ वटा वाणिज्य बैंकहरुले खराब कर्जा घटाएका छन् । यो अवधिमा सबैभन्दा बढी खराब कर्जा नबिल बैंकले घटाएको छ । नबिल बैंकले पहिलो ३ महिनाको अवधिमा दोस्रो त्रैमासमा २.४९ प्रतिशतले खराब कर्जा घटाएको छ भने सरकारी स्वामित्वको कृषि विकास बैंकले २.३१ प्रतिशतले खराब कर्जा घटाउन सफल भएको छ । सोही कारण बैंकहरूको वित्तीय विवरणमा पनि केहि सुधार आएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीदेखि बैंक सञ्चालक तथा सीईओले समेत कर्जा असुलीमा चुनौती रहेको बताउँद आउपनि बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणले औसतमा खराब कर्जा घट्दै गएको देखाएको छ । यसले अर्थतन्त्रमा केहि सहजता हुँदै गएको अनुमान त गर्न सकिन्छ ।
तर, अर्थतन्त्र चलायमान हुन नसक्दा अर्थात आर्थिक मन्दी सिर्जना हुँदा कर्जा असुलीमा समस्या रहेको बैंकरहरूले बताउँदै आएका छन् । पछिल्लो केहि महिना अघिबाट क्रमशः ब्याजदर घट्दै गएको छ । आगामी दिनमा थप घट्ने बैंकरहरूले बताएका छन् ।
खराब कर्जा अनुपात घट्दै गएपनि समग्रमा बैंकहरुको खराब कर्जा भने अझै पनि उच्च रहेकोे छ । विगतमा कर्जा असुलीमा अपेक्षित सफलता प्राप्त गर्न नसक्दा खराब कर्जा बढेको हो ।
यस वर्ष अधिकांश वाणिज्य बैंकको खुद मुनाफा घटेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्य सबैभन्दा धेरै खराब कर्जा कुमारी बैंकको रहेको छ । यसको यस्तो कर्जा ४.९७ प्रतिशत रहेको छ । हिमालयन बैंकको ४.९५ प्रतिशत, प्रभु बैंकको ४.९० प्रतिशत छ । सबैभन्दा कम खराब कर्जा अनुपात भने एभरेष्ट बैंकको रहेको छ । यसको खराब कर्जा ०.७७ प्रतिशत छ । १ प्रतिशत भन्दा कम खराब कर्जा हुने यो एक मात्रै बैंक हो ।
त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ४.७५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.६८ प्रतिशत, लक्ष्मी सनराइज बैंक४.६७ प्रतिशत रहेको छ ।
साढे ४ प्रतिशत वा सोभन्दा कम खराब कर्जा भएका वाणिज्य बैंकहरूमा नेपाल बैंक, प्राइम कमर्शियल बैंक, सिटिजन्स बैंक रहेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको खराब कर्जा क्रमशः ३.९५ प्रतिशत र ३.०२ प्रतिशत रहेको छ ।
एनएमबि बैंकको यस्तो कर्जा अनुपात २.८६, माछापुच्छ्रे बैंकको २.६२ प्रतिशत, सिद्धार्थ बैंकको २.५६ प्रतिशत, नेपाल एसबिआई बैंकको २.२९ प्रतिशत रहेको छ । स्टयाण्र्डड चार्टर्ड बैंकको १.६० प्रतिशत, नबिल बैंकको १.२० प्रतिशत र एनआईसी एशिया बैंकको १.१९ प्रतिशत खराब कर्जा रहेको छ ।