काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक रहको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकको खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४४.५४ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३९.२२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २५.०८ प्रतिशत घटेको छ ।
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ । जसका कारण इम्पेरमेन्ट चार्ज १ अर्ब १२ करोडबाट बढेर ४ अर्ब १३ करोड पुगेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ७६ पैसा घटेर ११ रुपैयाँ ३१ पैसामा झरेको छ । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १८.१३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा रहेको छ ।
३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ सञ्चित छ । पुसको अन्त्यसम्ममा बैंकले ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।