कुमारी बैंकको खुद ब्याज आम्दानी ३५ प्रतिशत बढेपनि नाफा घट्यो

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.३१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकको खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७७ करोड रुपैयाँ ऋणात्मक रहको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.०१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १३१.४४ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४५.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५.०८ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ । जसका कारण इम्पेरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट बढेर २ अर्ब ७६ करोड पुगेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ १० पैसा घटेर ६ रुपैयाँ ६१ पैसामा झरेको छ । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २४.११ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८२ पैसा रहेको छ ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ सञ्चित छ । पुसको अन्त्यसम्ममा बैंकले ३ खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स