लोअर इर्खूवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी (एनएचपीसी) प्रमुख प्रवद्र्धक रहेको लोअर इर्खूवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३० करोड ५० लाख रुपैयाँको २१.५ प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरको २८ लाख ५ हजार ७५० कित्ता सेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १३ लाख ५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि र ११.५ प्रतिशत अर्थात् १५ लाख ७५० कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई जारी गर्नेछ ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुबेदी तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले भोजपुर जिल्लामा निर्माण गरिरहेको तल्लो इर्खूवा जलविद्युत आयोजनाको निर्माणको कामअन्तिम चरणमा पुगेको छ ।

कम्पनीले १४.१५ मेगावाट क्षमताको उक्त आयोजनाको सुरुङ उत्खनन्, सिभिल निर्माण, इलेक्ट्रो मेकानिकल उपकरणहरुको खरिद, हाइड्रो मेकानिकल उपकरणरुको खरिद तथा निर्माण तथा प्रसारण लाइनको व्यवस्थापन भइसक्दा ८५ प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।

करिब २ अर्ब ९९ करोड रुपैयाँमा सम्पन्न हुने यस आयोजनाको लागि माछापुच्छ्रे बैंकको अगुवाइमा नेपाल एसबिआई बैंक र ज्योति विकास बैंकको सहवित्तीयकरणमा ऋण सुविधा प्राप्त भइसकेकको छ ।

आयोजनाबाट चालू आर्थिक वर्ष भित्र विद्युतको व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स