काठमाडौं । कैलाश हेलिकप्टरले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
बुधबार आयोजित एक कार्यक्रममा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक प्रतापजंग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले आफ्नो जारी पूँजी ३५ करोडको १० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्नेछ ।
सन् २०१८ मार्च २३ बाट सञ्चालनमा आएको यस कम्पनीले एयरबस कम्पनी फ्रान्सद्वारा निर्मित एएस३५० सेरिजको ३ वटा हेलिकप्टर मार्फत उच्चस्तरिय विविध सुविधा प्रदान गर्दै आएको छ । सञ्चालनमा आएको पहिलो वर्षदेखि निरन्तर नाफामा रहेको यस कम्पनीले कोभिड १९ माहामारीको समय आ.व. २०७६/७७ बाहेकको हरेक वर्ष आफ्नो लगानीकर्तालाई प्रतिफल दिदैं आएको छ ।