काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार नेपाली रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको छ । सरकारले यो अवधिमा २ सय २६ वटा वैदेशिक लगानी भएको उद्योग विभागले बताएको हो ।
पुसमा मात्रै २७ वटा नयाँ विदेशी लगानीका उद्योगहरू दर्ता भएका छन् । सो उद्योगबाट १ अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ ।
त्यसैगरी विभागले उक्त अवधिमा २८ वटा सेयर खरिद सम्झौतालाई पनि स्वीकृति दिएको छ । जसबाट ४ अर्ब १ करोड ३ लाख ९ हजार ९ सय ६९ रुपैयाँ विदेशी लगानी भित्रिने प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । पुसमा मात्रै यस्तो स्वीकृति सातवटाले पाएका छन् । जसमा २६ करोड ३६ लाख ५० हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता हो।
विभागले सोही अवधिमा ३१ वटा प्रविधि हस्तान्तरण सम्झौतालाई स्वीकृति दिएको छ । पुसमा मात्रै चारवटा यस्ता सम्झौताले स्वीकृति पाएका छन् ।
पुसमा प्रस्तावित लगानी प्रतिबद्धता साना २२ र मझौला ५ उद्योग रहेका छन् भने गत आवको ६ महिनाको प्रस्तावित लगानीअनुसार भने साना २११, मझौला १२ र ठूला ३ उद्योगमा भित्रिने विभागले उल्लेख गरेको छ ।
क्षेत्रगत रुपमा छ महिनामा आएको लगानी उत्पादन, ऊर्जा, कृषि, पर्यटन, खानीजन्य, सेवा, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा भित्रिएको हो। यसअनुसार ६ महिनामा पर्यटनमा ४५ प्रतिशत, सेवातर्फ ३७ प्रतिशत, उत्पादनतर्फ १० प्रतिशत, सूचना प्रविधितर्फ ३ प्रतिशत, पूर्वाधारतर्फ २ प्रतिशत, ऊर्जामा शून्य, खनिजमा १ र कृषिमा २ प्रतिशत लगानी प्रतिबद्धता आएको विभागले उल्लेख गरेको छ ।