काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुराएको हस्तकला क्षेत्रको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शनिवार काठमाडौँमा नेपाल हस्तकला महासङ्घको वार्षिक साधारण सभामा बोल्दै गृहमन्त्री श्रेष्ठले हस्तकला नीतिको मस्यौदालाई चाँडै पूर्णता दिइने तथा सातै प्रदेशमा हस्तकलाग्राम निर्माणका निम्ति उच्चस्तरमा छलफल अघि बढाइने बताएका हुन ।
मुलुकको तीव्र आर्थिक विकास नै आजको प्रमुख कार्य हो भन्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार यसका निम्ति क्रियाशील रहेको बताए । उनले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अघि बढिरहेको उल्लेख गरे । ‘विकास र आर्थिक क्रियाकलापलाई केन्द्रमा राखिएको छ, सुशासनलाई त्यसको पूर्वसर्त बनाइएको छ’, उनले भने, ‘सुशासनबिना परिणाम दिन सकिँदैन, सरकार त्यसप्रति सचेत छ ।’
बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्राकारले हस्तकलाका उत्पादन निर्यात गरी मुलुकको आर्थिक अवस्थालाई सबल बनाउन सकिने दृष्टान्त दिँदै निर्यात प्रवद्र्धनमा सहजीकरण गर्न बागमती प्रदेश सरकार तयार रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग आग्रह गर्दै सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए । मुलुकको आर्थिक परिसूचकाङ्क सकारात्मक दिशाउन्मुख रहेका उल्लेख गर्दै उनले सकारात्मक भाष्यका साथ अघि बढ्न व्यवसायीलाई आह्वान गरे ।