काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा निर्जीवन बीमा कम्पनीहरूले १५ अर्ब ७४ करोड ८९ लाख रुपैयाँको व्यापार गरेका छन् । बीमा कम्पनीहरूले गरेको व्यापार गत आवको सोही अवधिको तुलनामा केहि कम हो । गत आवको सोही अवधिको देशमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूले १५ अर्ब ९७ करोड ८४लाख रुपैयाँ बराबरको बीमा पोलिसीको व्यापार गरेका थिए ।
चालु आवको पहिलो ५ महिनामा ८ निर्जीवन बीमा कम्पनीको व्यापार १ अर्बभन्दा माथि छ भने अन्य कम्पनीको नाफा अर्बभन्दा कम रहेको छ । देशमा सञ्चालित निर्जीवन बीमा कम्पनीमध्ये चालु आवको साउनदेखि मंसिरसम्म सबैभन्दा बढी व्यापार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्यारेन्स बीमा व्यवसाय गर्ने दोस्रो ठूलो कम्पनी बनेको छ ।
चालु आवको यो अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले १ अर्ब ९९ करोड ९७ लाख रुपैयाँको व्यापार गरेको छ भने बढी बीमा व्यवसाय गर्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६५ करोड १९ लाख रुपैयाँको व्यापार गरेको छ । चालु आवमा बढी व्यापार गर्ने यी दुबै कम्पनी गत आवमा मर्जर गएका हुन् । सगरमाथा र लुम्बिनी एक आपसमा मर्ज भएका हुन् भने सिद्धार्थ र प्रिमियर पनि एक आपसमा मर्ज भएका हुन् ।
बीमा प्राधिकरणको पुँजी वृद्धि योजना अनुसार एक्लै पुँजी पुर्याएको शिखर इन्स्योरेन्सको व्यापार भने १ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ रहेको छ । हिमालय एभरेष्ट इन्स्योरेन्सको बढी व्यापार गर्ने चौथो कम्पनी बनेको छ । कम्पनीले चालु आवको यो अवधिमा १ अर्ब ३९ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै आइजीआई प्रूडेन्सियल इन्स्योरेन्सको १ अर्ब ३८ करोड १२ लाख रुपैयाँ व्यापार रहेको छ भने नेको इन्स्योरेन्सको व्यापार १ अर्ब ३३ करोड ३० लाख रुपैयाँ रहेको छ । युनाइटेड अजोड इन्स्योरेन्सको व्यपार १ अर्ब ७ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीको १ अर्ब १ करोड ६४ लाख व्यापार रहेको छ ।
चालु आवको साउनदेखि मंसिरसम्म सानिमा जीआईसीको व्यापार ९६ करोड ८६ लाख, प्रभु इन्स्योरेन्सको ८१ करोड १४ लाख, दि ओरिएन्टल इन्स्योरेन्सले ७२ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको व्यापार ६२ करोड ६१ लाख र नेपाल इन्स्योरेन्सले ६१ करोड ९१ लाख रुपैयाँको व्यापार गरेका छन् ।
चालु आवको यो अवधिमा नेपाल माईक्रो इन्स्योरेन्सको व्यापार १ करोड ४० लाख र प्रोटेक्टिभ माईक्रोले १ करोड ३८ लाख व्यापार गरेका छन् । गत आवको यो अवधिमा भने माईक्रो इन्स्योरेन्स सञ्चालनमा आएका थिएनन् ।
[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/01/Monthly-Nonlife-Insurance-Business_Mangsir2080.pdf”]