डोटि । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका छन् । यहाँका गाउँघरमा खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न शहर जाने क्रम निकै बढेको छ ।
कैलालीमा रहेको इलाका प्रहरी कार्यालय त्रिनगरका अनुसार प्रत्येक दिन कम्तीमा पनि ५०० देखि ७०० युवा काम खोज्न भारत जान थालेका छन् । अधिकांश नेपाली भारतको पञ्जाब, मुम्बई, आगरा, राजस्थान, बरेली, लखनऊ, सिमला तथा काला पहाडका शहरमा कामका लागि जान थालेको बताउने गरेको त्रिनगर प्रहरी प्रमुख रमेश शाहीले बताए ।
उनले भने, दैनिक सयौँ नागरिक कामका लागि भारत जान थालेका छन्, अधिकांश महिला र बालबालिका छन्, गाउँमा काम नपाएपछि काम खोज्न भारत जान थालेको भन्छन्, निकै दया लागेर आउँछ । कोभिड–१९ को जोखिम यहाँका शहरदेखि गाउँसम्म कायमै रहे पनि त्यसको बेवास्ता गर्दै यहाँका बेरोजगार नागरिक कामकै लागि भारत पस्न थालेका हुन् । हरेक वर्ष धान रोपाइँ सकेपछि हजारौँ सुदूरपश्चिमेली युवा काम खोज्न भारत जाने र चाडपर्वका बेला फर्किने परम्परा रहेकाले यस वर्ष पनि कामकै लागि अर्थात् दशैँ खर्च जुटाउन भारत पस्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ गैराका मदनबहादुर बामीले बताए ।
सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी तथा डोटीलगायतका जिल्लाका नागरिक कामकै लागि बर्सेनि भारत जाने परम्परा छ । यहाँका नौ जिल्लामध्ये सबैभन्दा बढी अछाम, बाजुरा तथा डोटीका नागरिक कामका लागि बढी भारत पस्ने गरेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख पुरुषोत्तम कँडेलले हिजोआज कामका लागि भारत जाने नेपालीको सङ्ख्या एकाएक बढेको जानकारी दिए । उनका अनुसार नेपालीहरुको सुरक्षाका लागि सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरुसँग समन्वय गरिएको छ ।
यसै सिलसिलामा डोटीबाट पनि दैनिक दजनौँ युवा कामका लागि जिल्ला छाड्न थालेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । अर्थावस्था कमजोर रहेका यस क्षेत्रका युवा रोपाइँ सकिएपछि बर्सेनि भारतका विभिन्न शहरमा मजदुरीका लागि जाने गरेको केआइसिंह गाउँपालिका–३ का शेरबहादुर ऐरले बताए । उनले भने, कामका लागि यहाँका नागरिकले भारतकै भर पर्नुपर्ने हुन्छ, खेतीपातीको काम सकेर खाली गाउँ बस्नुभन्दा काम पनि मिल्ने कमाइ पनि हुने भएकाले युवाहरु भारत जान थालेका हुन् ।
घरपरिवारको अर्थावस्था कमजोर भएको र विद्यालयमा समेत पढाइ बन्द भएकाले भारतमा काम गर्न जानुपरेको डोटीबाट आफन्तको साथमा भारत हिँडेका जिल्लाको सायल गाउँपालिकाका युवा करन रोकायाले दुखेसो पोखे । उनले भने, स्कूल सबै बन्द छन्, घरमा खानलाउन समस्या छ, खाली बस्नुभन्दा अलिकति भए पनि कमाइ हुन्छ भनेर भारत जाँदैछु, दशैँमा कमाएर आउँछु ।
उनीजस्तै पछिल्लो समय जिल्लाबाट काम खोज्नका लागि सयौँ युवा तथा बालबालिका आफ्नो पढाइ छाडेर काम खोज्न भारत जान थालेका छन् । नेपालमा बालबालिकालाई काम गर्न नदिइने तथा भारतमा बालबालिकाका लागि सहजै काम पाइने भएकाले आफूहरु घर छाडेर भारत जाने गरेको बालबालिका बताउँछन् । जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने एक दर्जन जति सङ्घसंस्था भए पनि अहिले कामका लागि भारत जान थालेका बालबालिकालाई रोक्न कसैले पहल गरेका छैनन् । आमाबुबा साथमै हुने गरेका कारण बालबालिकालाई भारत जानबाट रोक्न नसकिएको यहाँको प्रहरी प्रशासनले बताउँदै आएको छ ।