४३९ मेगावाटको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावरको प्रबन्ध निर्देशकमा कृष्ण आचार्य

काठमाडौं । बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेडको प्रबन्ध निर्देशकमा कृष्णप्रसाद आचार्य नियुक्त भएका छन् । पुस ४ गते बसेको कम्पनीको साधारणसभाले आचार्यलाई कम्पनीको प्रबन्ध निर्देशक बनाउने निर्णय गरेको थियो ।

उनले आज शुक्रबार पदभार ग्रहण गरि कार्यभार सम्हालेका छन् । करिब एक वर्षदेखि रिक्त रहेको प्रबन्ध निर्देशक पदमा आचार्यलाई आगामी ४ वर्षका लागि नियुक्त गरिएको हो ।

आचार्यले सञ्चयकोषको प्रशासकको जिम्मेवारीमा रहँदा यो कम्पनी स्थापनाको प्रक्रिया सुरु गरेका थिए ।
बेतन कर्णाली सन्चयकर्ता हाइड्रोपावर कम्पनीले ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माण अघि बढाइरहेको छ । यो आयोजनाको अध्ययनको काम सकिएर अहिले पूर्व तयारीको काम भइरहेको छ ।

आयोजनामा कर्मचारी सन्चय कोष, नेपाल विद्युत प्राधिकरण र एचआईडीसीएलको लगानी रहेको छ । आफैंले स्थापनाको नेतृत्व गरेको कम्पनीको व्यवस्थापन सम्हालेर अब उनले ४३९ मेगावाटको आयोजना बनाउने जिम्मेवारी पाएका छन् ।

प्रबन्ध निर्देशक नियुक्त भएका आचार्य चाटर्ड एकाउन्टेन्ट हुन भने आइक्यानका पूर्व अध्यक्षको जिम्मेवारी समेत पूरा गरिसकेका छन् । कर्मचारी सञ्चय कोषको प्रशासकको जिम्मेवारी समेत पूरा गरिसकेका छन् । उनले त्यस अघि एनआईडिसीको समेत नेतृत्व गरिसकेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स