काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने मिति हेरफेर गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले लगानी सम्मेलनको मिति परिवर्तन गर्न लागेको हो ।
मंसिर पहिलो साता मन्त्रिपरिषद्ले २०८० वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने निर्णय गरेको थियो । तर, त्यसबखत विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको स्प्रिरिङ बैठक बस्ने भएकाले लगानी सम्मेलनको मिति सार्ने तयारी गरिएको हो ।
अन्तर्राष्ट्रिय विकास साझेदारहरुले बैंक र कोषको बैठकसँग लगानी सम्मेलनको मिति नजुधाउन सुझाव दिएपछि तेस्रो लगानी सम्मेलनको मिति सार्ने तयारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
वैशाखमा आयोजना हुने लगानी सम्मेलनका विषयमा नेपालमा काम गरिरहेका विभिन्न विकास साझेदारलाई जानकारी दिन अर्थ मन्त्रालयमा मंसिर २५ गते बैठक आयोजना गरिएको थियो । बैठकमा सबै विकास साझेदारका प्रतिनिधिले स्प्रिरिङ बैठकको मितिलाई ध्यान दिन आग्रह गरेका थिए ।
अर्थ मन्त्रालयले वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्ने नयाँ मिति प्रस्ताव गरेको छ । मन्त्रिपरिषद् बैठकले वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्ने निर्णय गर्छ भन्ने आधारमा लगानी बोर्ड नेपालले होटलसमेत बुकिङ गरिसकेको छ ।
‘यसअघि सल्लाह नगरी सम्मेलनको मिति तोक्दा हामीले १ महिनामै समय परिवर्तन गर्नुपर्ने अवस्था आयो,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘अव हामी वैशाख १६ र १७ गतेमै निश्चित भएका छौं ।’
सरकारले चालु आर्थिक वर्षको बजेटमा विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको थियो । यस्तै, लगानी बोर्ड नेपालको ५३औं बैठकले गत चैतमा २०८० भित्र लगानी सम्मेलन आयोजना गर्ने भन्दै सम्मेलनको अवधारणपत्र स्वीकृत गरेको थियो ।