काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो ।
हरेकले ‘क्रिसमस डे’लाई आ–आफ्नै तरिकाले मनाउँछन्। कसैले उपहार दिएर मनाउँछन् त कसैले खानपान र नाचगान गरेर। ‘क्रिसमस डे’मा शुभकामना आदानप्रदान गर्नेहरू पनि धेरै हुन्छन्। पछिल्लो समय ‘क्रिसमस डे’ मा उपहार दिने चलन बढ्दो रहेको व्यापारी बताउँछन्।
जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन । वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ मा दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट जन्म भएको मानिन्छ । त्यस बेलाको समयलाई वषको आधारमा होइन, बिसीको आधारमा हेरिन्थ्यो । त्यस्तो बेला जिसस को जन्मको वास्तविक तिथी तथा समयको बारेमा कहिं पनि लेखिएको छैन ।
नेपालमा ४ सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् । विक्रम संवत् ०६२–६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ ।
क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन्। ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । क्रिसमसका अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ।