मुगुमा हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र

खलङ्गा । दशैंको अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जनका लागि घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षाका कारण त्यहाँ पुगेका पर्यटक अलपत्र परेका छन् । स्थल मार्ग ठाउँ ठाउँमा भत्केको र मुगुमा हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका हुन् । कर्णालीमा उडान भर्दे आएका चारवटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ उडान गरेकाले अहिले त्यहाँको उडान ठप्प छ । लगातारको वर्षाले स्थलमार्ग पूर्णरूपमा बन्द छ भने जहाज नचल्दा दशैंको बिदा मनाउन राराताल पुगेका पर्यटक सातादेखि अलपत्र परेका हुन् ।

नेपालगञ्जकी सृजन खत्री काठमाडौंबाट आएका आठ साथीसँगै मोटरसाइकलमा रारा पुगेका थिए । बाटोमा मोटरसाइकल बिग्रिए । उनका साथीहरू जहाजमार्फत नेपालगञ्ज आउनका लागि तीन दिनदेखि विमानस्थलमा विमानको प्रतिक्षामा छन् । ‘जहाज नआउँदा तीन दिनदेखि विमानस्थलमै अलपत्र परेका छौं, पैसा पनि सकियो’, उनले भने, ‘एक सातादेखि विमान नपाएर धेरैजना यहीँ छन्, उद्धारका लागि धेरै ठाउँमा फोनमार्फत गुहा¥यौँ, अहिलेसम्म कसैले जवाफ दिएका छैनन् ।’

जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि फेरि मौसममा खराबी आउने पूर्वानुमान गरेको छ । मौसममा खराबी आउनेबित्तिकै ताल्चामा विमान अवतरण हुँदैन । एक सयभन्दा बढी यात्रु विमानस्थलमा उद्धारको प्रतिक्षामा छौं । आजसम्म उद्धार नभए अझै कति दिन भोकभोकै बस्नुपर्ने हो थाहा छैन । निरन्तरको वर्षाका कारण मौसममा सुधार नहुँदा सोमबारदेखि बुधबारसम्म यस विमानस्थलमा एउटै पनि उडान भएन । बिहीबार जम्मा दुईवटा मात्रै उडान भए । राजधानी काठमाडौं र अन्य जिल्लाबाट प्याकेजमा आएका पर्यटकलाई हवाई उडान नहुँदा सास्ती भएको उनले बताए ।

विमानस्थलमा यात्रुको चाप थेगिनसक्नुको छ । सयभन्दा बढी यात्रु विमानस्थलमा विमानको पर्खाइमा छन् । हवाईमार्गमार्फत राराताल आउने अधिकांश पर्यटक एक रात बिताएर फर्किने गरी प्याकेज बनाएका हुन्छन् । एक सातादेखि उडान भर्न नपाउँदा समस्या भएको विमानस्थल प्रमुख विशाल बरुणले बताए ।

मुगुमा नेपाल वायुसेवा निगम, समिट एयर, तारा एयर र सीता एयरले उडान भर्दै आएका छन् । बाढीपहिराका कारण विभिन्न ठाउँको स्थलमार्ग अवरुद्ध हुँदा कर्णालीमा सञ्चालन हुने हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्व र सुदूरपश्चिमतर्फ लगेका हुन् । सीताको जहाजमा खराबी आएर नेपालगञ्जमा थन्क्यिाइएको छ । समिटको जहाज सुदूरपश्चिम प्रदेशमै छ । ताराको जहाजले दैनिक एक–दुई उडान मात्रै गर्दै आएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रोम महतले अलपत्र यात्रुको उद्धारका लागि सरोकार निकाय र विमान सञ्चालक कम्पनीलाई पत्राचार गरिएको बताए । उनले गृह मन्त्रालय, कर्णाली प्रदेश सरकार र विमान सञ्चालक कम्पनीहरुलाई नियमित र थप उडान गर्नका लागि जानकारी गराउनाका साथै पत्राचार पनि गरिएको बताए । बाढी–पहिराका कारण कर्णाली राजमार्गको सुर्खेत–नाग्म सडक र नाग्म–गमगढी सडकका १४ ठाउँमा ठूलो पहिरो खसेपछि सवारी साधनलाई सास्ती भएको यहाँका स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स