काठमाडौं । मर्जरमा गएका जीवन बीमा कम्पनीहरूको व्यवसायमा खासै सिनर्जी देखिएको पाइएन । चालु आवको पहिलो चौमाससम्म ९ वटा जीवन बीमा कम्पनी मिलेर बनेको ४ जीवन बीमा कम्पनीको कुल व्यवसाय जम्मा ११ अर्ब ३९ करोड ७९ लाख रुपैयाँमात्रै देखिएको छ । मर्जरमा गएका जीवन बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्क कुल बीमा शुल्कको जम्मा २३ प्रतिशतमात्रै हो ।
गत आवमै मर्जरमा गएका यी कम्पनीहरूले गत आवमा कर्मचारी व्यवस्थापनदेखि अन्य आन्तरिक प्रक्रिया सल्टाउन लागेपनि यो आवदेखि भने व्यवसायमा सिनर्जी देखिनुपर्ने हो । तर, यी बीमा कम्पनीले गरेको व्यवसाय खासै उत्साहजनक देखिदैन पुँजी वृद्धि योजना अनुरुप पुँजी पुर्याउनमात्रै गरिएको मजर जस्तो देखिएको छ ।
हाल देशमा १४ वटा जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । यी कम्पनीहरूले कार्तिक महिनासम्म प्रथम र नवीकरण बीमा व्यवसाय गरेर ९ लाख ३५ हजार ५९९ वटा बीमा पोलिसी जारी गरेर ११ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । मर्जरमा गएका उक्त कम्पनीहरूले कार्तिक महिनामात्रै २ अर्ब ४ करोड १६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनीहरू २०८० वैशाख २६ गते एक आपसमा मर्ज भएर बनेको यी कम्पनीको कार्तिक महिनासम्म ३ लाख ८६ हजार ४६५ वटा बीमा पोलिसी जारी गरेर ५ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीले कार्तिक महिनामात्रै ९८ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स २०७९ मंसिर १५ गते मर्ज भएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आवको कार्तिक महिनासम्म ९ लाख ३५ हजार ५९९ वटा बीमा पोलिसी जारी गरेर २ अर्ब ७६ करोड २१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । उक्त कम्पनीले जीवन बीमा व्यवसाय गरी कार्तिक महिनामात्रै ४५ करोड ७५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
२०७९ चैत ७ गते रिलायन्स इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स दुई कम्पनी मिलेर मर्जरमा गएका सानिमा लाइफ इन्स्योरेन्सले व्यवसायी गरी कार्तिक महिनासम्म प्रथम र नवीकरण व्यवसाय गरेर १ अर्ब ८९ करोड ५३ लाख रुपैयाँ प्रिमियम सकंलन गरेको छ । कार्तिक महिनामात्रै ७४ हजार ४९६ वटा बीमा पोलिसी जारी गरेर ३७ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै महालक्ष्मी लाइफ कम्पनी र प्रभु लाइफ कम्पनी २०८० असार २९ गते यी दुई कम्पनी मर्जर भएर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो एकीकृत कारोबार शुभारम्भ गरेका थिए । मर्जरमा गएका उक्त कम्पनीले कार्तिक महिनासम्म १ लाख ६९ हजार ३५१ वटा बीमा पोलिसी जारी गरेर १ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सो कम्पनीले कार्तिक महिनामात्रै २२ करोड २१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो ।