काठमाडौं । भिजिट भिसाको नक्कली कागजपत्र बनाएर विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ट्राभल एजेन्सीका सञ्चालक, प्रहरी र कर्मचारी रहेको नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार पत्रकार सम्मेलन गरी गत असोज १९ गतेदेखि हालसम्म सो प्रकरणमा ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनका अनुसार नक्कली कागजात बनाइ भिजिट भिसामा विदेश पठाउने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्व प्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरू ११ जना रहेका छन् ।
प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीकाअनुसार पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरूमा एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल, एडभान्स म्यानेजमेण्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे, वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी र एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव रहेका छन् ।
त्यस्तै पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल पनि रहेका छन् ।
पक्राउ परेका मध्ये ९ जनामाथि सङ्गठित अपराधमा र १२ जनामाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ती मध्ये ८ जना धरौटीमा छुटिसकेको र बुधवार मात्र थप ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ गरिएको प्रहरीले जनाएको छ ।