‘सेयर खरिदबिक्रीको कागजात संकलन हुँदैछ, चाँडै जानकारी दिन्छौं’, यस्तो छ प्राधिकरणलाई आजियाटाको जवाफ

काठमाडौं । एनसेल आजियटा लिमिटेडले सेयर खरिदबिक्रीसम्बन्धी कागजात संकलनको क्रममा रहेकाले चाँडै त्यसबारे नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिने भन्दै पत्र पठाएको छ ।

अर्थ समितिको आजको बैठकमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सेयर खरिदबिक्रीबारे एनसेलसँग जानकारी माग गरिएकामा त्यसको जवाफ प्राप्त भएको बताए । उनका अनुसार एनसेलको सेयर खरिदबिक्रीबारे जानकारी मागसहित प्राधिकरणले मङ्सिर १५ गते पत्राचार गरेकोमा मङ्सिर १९ गते त्यसको जवाफ प्राप्त भएको छ ।

सेयर खरिदबिक्रीसँग सम्बन्धित कागजात संकलनका क्रममा रहेको र नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जानकारी दिने तयारी रहेको बताएको छ ।

समितिमा एनसेलको सेयर खरिदबिक्री शंकास्पद देखिएमा प्राधिकरणले थप छानबिन गर्ने पनि अध्यक्ष खनालले जानकारी दिए । प्राधिकरणको दुई अर्ब २५ करोड बेरुजु बक्यौताबारे पनि समितिले प्राधिकरणसँग जवाफ माग गरेको थियो । सो सन्दर्भमा विभिन्न नौ वटा दूरञ्चार सेवा प्रदायक कम्पनीबाट असुल उपर गरिनुपर्ने बक्यौता तीन महिनाभित्र बुझाउन भनिएको प्राधिकरणले जनाएको छ ।

अर्थ समितिको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले एनसेलको व्यवस्थापनलाई अर्थसमितिमा बोलाएर जानकारी माग्नुपर्ने बताए । ‘एनसेल आजियटा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ), एनसेलका नेपाली मूलका साझेदारलाई समितिमा बोलाएर यस विषयमा अर्थसमितिले पत्र काटोस्’, उनले भने, ‘लगानी सम्मेलन गर्ने भनिरहेका बेला नेपालमा प्रत्यक्ष लगानी गरिरहेको कम्पनी बाहिरिनुले नेपालको प्रतिष्ठामा आँच पुग्ने अवस्था आएको छ ।’ यस प्रकरणले नेपालमा लगानी गर्न चाहेने विदेशी लगानीकर्तामाझ नकारात्मक सन्देश जाने वाग्लेको भनाइ थियो ।

समितिका सांसदहरु दीपक खड्का, विराजभक्त श्रेष्ठ, गंगा कार्की, पूर्णबहादुर तामाङलगायतले एनसेल खरिदबिक्री प्रकरणबारे गम्भीर छानबिन गरिनुपर्ने धारणा राखे । यति ठूलो व्यावसायिक कारोबारबारे राज्यका निकायलाई जानकारी नहुनु लज्जास्पद र विद्यमान कानुनको उल्लंघन रहेकाले यसबारे राज्यका निकायले गम्भीर भएर अनुसन्धान थाल्नुपर्ने सांसदहरुको धारणा थियो ।

यस्तो छ एनसेल आजियाटाले पठाएको जवाफी पत्र

यस कम्पनीको सेयरधनी रेनोल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्री गर्ने सम्बन्धमा आजियाटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडबीच सेयर बिक्री सम्झौतासम्म गरेकाले त्यहाँको पत्रमा उल्लेखित दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री) विनियामली, २०७६ को विनियम ४ (क) परिपालना प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लेखित सेयर खरिद बिक्रीका लागि भएको दुई पक्षीय सम्झौता समेतका कागजातहरु तदारुकतासाथ सम्बन्धित पक्षबाट छलफलका क्रममा रहेको अवतग गराउन चाहन्छौं ।

एनसेल आजियाटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानूनी कर्तव्य पालनमा सदैब जागरुक र कटिबद्ध रहेको प्राधिकरणमा अवगत नै छ । अतः तहाँको पत्रमा उल्लेखित नियमावली र विनियामवलीका प्रावधानहरुको पूर्ण पालना गर्न सदाझैं एनसेल आजियाटा प्रतिबद्ध रहेको व्यहोरा सादर निवेदन गर्दै नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री) विनयामवली, २०७६ को विनियम ५ मा उल्लिखित कागजातहरु संकलन हुनासाथ तत्काल सो कागजातहरु संलग्न गरि दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री) विनियामली, २०७६ को विनियम ४ (क) बमोजिम त्यहाँ प्राधिकरणसमक्ष सेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने व्यहोरासमेत सादर अवगत गराउन चाहन्छौं ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स