नागरिक लगानी कोष हाक्न कसलाई रोज्ला सरकारले, को को छन् प्रतिस्पर्धामा ?

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक (ईडी) १० जनाको दौड धूप चलेको छ । कोषले गत कार्तिक २१ गते कार्यकारी निर्देशकको लागि आवेदन माग गरेपछि उनीहरूको दौड धूप सुरु भएको हो । अहिले कोष हाक्नको लागि अर्थ मन्त्रालयदेखि प्रधानमन्त्रीसम्म लविङ गरिरहेका छन् । यी १० मध्ये जसको पल्ला भारी हुन्छ उसैले कोषको कार्यकारी निर्देशकको पदभार पाउने छ ।

कोष ईडी छनोटको लागि अर्थ मन्त्रालयका सह सचिव भूपाल बरालको संयोजनमा ३ सदस्यीय समिति बनेको छ । कोषको कार्यकारी निर्देशक छनोट समितिले १० जनामध्ये ५ जनाको नाम सर्टलिष्ट गर्नेछ । कार्यकारी निर्देशक छनोट समितिले सर्टलिष्ट गरेका ५ जनामध्ये तीन जना उम्मेदवारको नाम सर्ट लिष्ट भने अर्थ मन्त्रालय गर्नेछ । ती तीन आवेदकको नाम मन्त्रिपरिषदमा पेस गर्नेछ । मन्त्रिपरिषद् बैठकले तीन जनामध्येबाट एक जनालाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ ।

सदाजस्तो यस पटक पनि कोष हाक्न आवेदन दिने अधिकांश प्राय पुरानै अनुहारका हुन् । कोषका कामु निर्देशक रोशनजंग कार्की र राष्ट्र बैंकका पूर्व निर्देशक राजेन्द्र पण्डित भने पहिलो पटक यस्तो प्रतिस्पर्धामा आएका हुन् ।
सरकारले सार्वजनिक संस्थानमा रिक्त पद पूर्ति गर्न आवेदन माग गर्दा प्राय जसो उनीहरू नै यस्तो दौड धूप तथा प्रतिस्पर्धामा देखिन्छन् । कुनै सार्वजनिक संस्थानमा सीईओ या ईडी खाली भयो भने आफ्नो कित्ता फ्याकी हाल्नेको जमातले नै कोषमा पनि आवेदन दिएका हुन् ।

कार्यकारी निर्देशकका लागि आवेदन दिनेमा नागरिक लगानी कोषका कायम मुकाय निर्देशक रोशनजंग कार्कीदेखि राष्ट्र बैंकका पूर्व निर्देशक, बैकरदेखि वहालवाल सहसचिवसम्मले आवेदन हालेका छन् ।

रोशनजंग कार्की, राजेन्द्र पण्डित, जीवन प्रकाश सिटौला, डा.शिवहरी श्रेष्ठ, पर्वत कुमार कार्की, विश्वमोहन अधिकारी, कमलप्रसाद रेग्मी, रामदेव यादव, लेखनाथ शर्मा पंगेनी र अनिलराज पौडेलरहेका छन् ।

आवेदन दिनेमा रोशनजंग कार्की हाल नागरिक लगानी कोषका कामु निर्देशक हुन् । लेखा तथा कर प्रणालीमा एमबीबी र फाइनान्समा ईएमबीए गरेका काकीको डेढ दशकभन्दा बढी समय कोषमा काम गरेको कार्य अनुभव छ । कार्कीले वित्त विश्लेषकको रुपमा अधिकृत स्तरबाट कोष प्रवेश गरेका हुन् ।

अर्का आवेदन राजेन्द्र पण्डित राष्ट्र बैंकबाट अवकास प्राप्त कर्मचारी हुन् । उनले राष्ट्र बैंकमा ३० वर्षसम्म काम गरेका छन् । हाल उनी पब्लिक पोलिसीमा विद्यावारिधी गर्दैछन् ।

उद्योग विभाग र सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक हुँदै कोसी प्रदेशको अर्थ सचिव भएर पनि काम गरिसकेका जीवन प्रकाश सिटौला पूर्व सहसचिव हुन् ।

पूर्व बैंकर समेत रहेका आवेदक विश्वमोहन अधिकारी युवा तथा स्वरोजगार कोषका हालका कार्यकारी निर्देशक हुन् । उनीसँग तत्कालीन ओम डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको कार्यअनुभव छ ।

डा. शिवहरी श्रेष्ठले राष्ट्रिय खाद्य संस्थानमा चार वर्ष महाप्रबन्धक भएर काम गरेको कार्यअनुभव छ । उनले राष्ट्रिय बीमा संस्थानको प्रशासक भएर पनि काम गरिसकेका छन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सीईओ र नेपाल औद्योगिक विकासमा पनि साढे दुई दशक काम गरेका छन् ।

कमलप्रसाद रेग्मी पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको प्रतिस्पर्धामा छन् । अर्थ मन्त्रालय र गृह मन्त्रालयमा समेत काम गरेका रेग्मीले १२ वर्ष नेपाल टेलिभिजनमा पनि काम गरे । रेग्मी नेपाल बीमा प्राधिकरणको कानुन तथा नियमन महाशाखा प्रमुख हुन् ।

आवेदक लेखनाथ शर्मा पंगेनी नेपाल सरकारका सहसचिवबाट अवकाश प्राप्त कर्मचारी हुन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका पंगेनीले राजस्व परामर्श बोर्डको सदस्य भएर पनि काम गरेका छन् । उनले अर्थ मन्त्रालय र मातहतका निकायमा तीन दशक लामो समय काम गरेका छन् ।

अनिलराज पौडेलले पनि कोषको ईडीका लागि आवेदन दिएका छन् । उनले करिब तीन दशक राष्ट्रिय सहकारी बोर्डमा उप–निर्देशक भएर काम गरेका छन्

किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले पनि आवेदन दिएका छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका कार्की राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । राष्ट्र बैंकमा तीन दशक कामअनुभव सम्हालेका कार्कीले ग्रामीण विकास बैंकको सीईओ भएर पनि काम गरेका छन् ।

सिंहदरबार वैद्यखानाका पूर्व कार्यकारी निर्देशक रामदेव यादव पनि ईडी बन्ने प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स