काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षा ढिलो आउँदैमा कुनै समस्या नआउने बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७ औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा नगरेर आकासै खस्न लाग्यो जस्तो कुरा गरिरहेका छन्, तर यसले सबै समस्याको समाधान गर्न सक्दैन ।’ उनले मौद्रिक नीतिको समीक्षा छिट्टै गर्ने र कार्तिक महिनाको प्रोभिजनल डाटा पर्खिएकोले केहि ढिलाई भएको बताए ।
गभर्नर अधिकारीले अघिल्लो वर्ष लिइएको बढी ब्याज गत वर्षमात्रै ४ अर्ब ७६ करोड रुपैयाँ फिर्ता गराएको बताए । उनले भने, ‘बैंकले बढी ब्याज लिए भनेर बाहिरबाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्नुस्, हामी फिर्ता गराइदिन्छौं ।’
गभर्नर अधिकारीले ग्राहकलाई समस्या परेको खण्डमा राष्ट्र बैकमा गुनासो गर्न सकिने र त्यसका लागि विभाग नै छुट्याइएको बताए ।
उनले व्यवसायीले आफ्नो क्षमता अनुसार मात्रै कर्जा लिनुपर्ने बताएका छन् । ‘कर्जा लिएपछि तिर्नुपर्छ। अहिले सकिएन भन्न पाँइदैन ।’ उनले भने, ‘राष्ट्र बैंकले व्यवसायिक वातावरण राम्रो बनाउने, लगानी मैत्री वातावरण बनाउने, आर्थिक स्थिरता ल्याउने, बैंकिंङ क्षेत्रमा स्थायित्व ल्याउनेमा प्रतिबद्ध छ ।’
पछिल्लो समय बैंकको कर्जा असुलीमा समस्या आइरहेको भन्दै गभर्नर अधिकारीले व्यवसायीलाई समयमा नै कर्जा तिर्न आग्रह पनि गरेका छन् ।
उनले राष्ट्र बैंकले व्यवसायिक वातावरण राम्रो बनाउने, लगानी मैत्री वातावरण बनाउने, आर्थिक स्थिरता ल्याउने, बैंकिंग क्षेत्रमा स्थायित्व ल्याउने, र जुनसुकै सुधार गर्न राष्ट्र बैंक अग्रसर रहेको उनले बताए । उनले ब्याजदरको विषय पनि बजारलाई नै छोडिएकोले निजि क्षेत्रले भने ब्याज तलमाथि गर्न राष्ट्र बैंकले नसक्ने बताए ।
‘निजी क्षेत्रले पनि नाफा मात्रै हेर्ने होइन । नाफा त हेर्नुहोस तर अत्यधिक होइन,’ उनले भने, ‘निजी क्षेत्रले सीमित नाफा लिएर काम गर्नुभयो भने मात्रै पनि अर्थतन्त्र चलायमान हुन्छ ।’