काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका ८८ कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्पष्टीकरण सोधेको छ । पुँजीबजारको नियामक निकाय सेबोनले समयमा वित्तीय विवरण नबुझाउने र ढिलो वित्तीय विवरण बुझाउने तीन बहुराष्ट्रिय कम्पनीसहित ८८ कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ मा स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले धितोपत्र बोर्डमा वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था छ ।
बोर्डले ढिलो विवरण बुझाउने ६९ वटा कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना किन नगर्ने भन्ने प्रश्न गर्दै १५ दिनभित्र जवाफ पेश गर्न भनेको छ । बोर्डमा वित्तीय विवरण नबुझाएका १८ कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना किन नगर्ने भन्दै प्रश्न गरेको छ । कात्तिक २० गते सञ्चालक समितिको बैठकले ८८ सूचीकृत कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि बोर्डले १५ दिनको समय दिँदै स्पष्टीकरण पत्र पठाएको छ ।