राष्ट्र बैंकले बोलायो भोलि सवा ४ बजे बैठक, मौद्रिक नीति समीक्षाको एजेण्डाले पाउँछ कि पाउँदैन स्थान ?

काठमाडौं । मंसिर १० कट्यो, मौद्रिक नीतिको समीक्षा आएन । मौद्रिक नीतिको समीक्षामार्फत केहि नयाँ व्यवस्था आउँछ अर्थात नीतिगत व्यवस्था संशोधन गरीे मन्दीमा गएको अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्छ भनेर दिन गनेर बस्ने धेरै छन् । अहिले जतातत्तै वित्तीय बजारदेखि उद्यमी व्यवसायी, लगानीकर्ता तथा स्वयम ऋणी समेत मौद्रिक नीतिको समीक्षा कुरेर बसिरहेका छन् ।

यद्यपि राष्ट्र बैंकले भने अझै मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाका लागि सञ्चालक समितिको बोर्ड बैठक बोलाएको छैन । गत साता प्रधानमन्त्री कार्यालयमा जम्बो टिम सहित दैनिक धाउन परेको राष्ट्र बैंकलाई अर्थतन्त्र सुधारको योजना नै प्रधानमन्त्रीले मागेपछि राष्ट्र बैंक त्यहि विषयमा अड्किएर बसेको छ ।

अर्थतन्त्र सुधारको पाटोको थालनी मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत देखिनु पर्ने भएपछि राष्ट्र बैंकले कस्ता कस्ता नीतिगत व्यवस्थामा सुधार गरे अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्छ भनेर लागि परेको छ । यसै विषयको चिन्तन र मननमा लागेका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षा आउन ढिला भइसकेको टिका टिप्पणी आइरहेको बेला भोलि मंगलबार ४.१५ बजे बोलाएको बोर्ड बैठकको एजेण्डा मौद्रिक नीति सम्बन्धी एजेण्डा पर्न सकेको छैन ।

भोलि मंगलबार अपराह्न ४.१५ मा बोलाइएको उक्त बैठकमा मुख्य ५ एजेण्डा रहेका छन् । विदेशी विनिमय कारोबार निरिक्षण नियमावली संशोधन, कर्मचारी विनियमावलीका सम्बन्धमा, टंक्सार महाशाखमा करारमा भर्ना भएका प्राविधिक कर्मचारीको सेवा सुविधा तथा लघुवित्तको मर्जर तथा एक्युजिशन र विभिन्न बैंक तथा वित्तीय संस्थाको निरिक्षण फाइल पास गर्ने मुख्य एजेण्डाका वारेमा बैठकमा छलफल हुने बुझिएको छ ।

मौद्रिक नीति समीक्षाको विषय विविधबाट बैठकमा छिरेमात्रै हो, नत्र उक्त एजेण्डा भोलिको बैठकमा पर्न सकेको छैन । त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गरिने छ,’ मौद्रिक नीति तर्जुमा कार्यविधि–२०७३ (प्रथम संशोधन २०७९) मा उल्लेख छ । कार्यविधिमा उल्लेख भएपनि दशै तिहार परेकाले पछि हटेको मौद्रिक नीतिको समीक्षाका विषयमा छलफल नहुनुमा सरकारको दवावलाई लिन सक्ने प्रशस्त ठाउँ रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएर अर्थतन्त्र सुधारका योजना ल्याउन भनेका थिए । त्यसपछि गभर्नर अधिकारीले मौद्रिक नीति समीक्षामा के के विषयलाई इन्डोस् गर्दा प्रधानमन्त्रीले भनेको जस्तो अर्थतन्त्र सुधारका नीतिगत व्यवस्था गर्न सकिन्छ भनेर उनको टिमले कार्य सम्पादन गरिरहेको छ ।

भोलिको बैठकबाट निष्केको निचोडपछि गभर्नरलाई उचित लागे त्यसपछि मौद्रिक नीतिको समीक्षाको विषयमा छलफल हुनेछ । नत्र मौद्रिक नीतिको समीक्षा आउन अझै केहि समय कुर्नुपर्ने राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स