पौने ८९ अर्बको पेट्रोलियम पदार्थ भित्रिदा, साढे ११ अर्बको स्मार्टफोन आयात

यी हुन नेपालमा बढी आयात भएका १० वस्तु

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा ७८ अर्ब ६४ करोड ३८ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको छ । डिजेलपछि पेट्रोल बढी आयात हुने वस्तुमध्ये दोस्रो नम्बरमा परेको छ भने एलपीग्यास तेस्रो नम्बरमा परेको छ ।

१. डिजेल : ४ महिनाको दौरान ३ लाख ५९ हजार ६ सय किलोलिटर डिजेल आयात भएको तथ्यांक भन्सार विभागले दिएको छ । सो वापत नेपालबाट ४० अर्ब ३१ करोड २४ लाख ८८ हजार रुपैयाँ बाहिरिएको छ । ४ महिनाको दौरान सरकारले डिजेल आयातबाट १४ अर्ब ९१ करोड ४७ लाख ५२ हजार रुपैयाँ राजस्व प्राप्त गगरेको छ ।

२. पेट्रोल : पेट्रोलियम पदार्थ अन्तर्गत नै चार महिनामा २ लाख २३ हजार ८ सय १० किलोलिटर पेट्रोल खपत भएको छ । चार महिनामा पेट्रोल आयात वापत २२ अर्ब ८७ करोड २७ लाख ६१ हजार रुपैयाँ रकम बाहिरिएको छ भने सरकारले १२ अर्ब ८८ करोड ७७ लाख ५१ हजार रुपैयाँ राजस्व पाएको छ ।

३. एलपीजी ग्याँस : पछिल्लो समय नेपाल विद्युतमा आत्मनिर्भर भनिए पनि घरायसी प्रयोगमा एलपीजी ग्याँसको खपत प्रभावकारी रुपमा घटाउन सकिएको छैन । पछिल्लो समय ग्याँसको खपत घट्दो ट्रेन्डमा रहे पनि चार महिनामा १६ करोड ७९ लाख ९४ हजार ७ सय ५६ किलोग्राम ग्याँस खपत भएको छ ।

एलपीजी ग्याँस आयात वापत नेपालले १५ अर्ब ४५ करोड ८५ लाख ९७ हजार रुपैयाँ रकम बाहिरिएको छ । नेपालले बिजुलीको बढ््दो प्रयोग र इन्डक्सन चुल्होलाई घरघरमा प्रयोगलाई अझै बढाउने हो भने यो रकम पुरै बचाउन सकिने अवस्था भने छ । यसको लागि नेपाल विद्युत प्राधिकरणले भरपर्दा विद्युत आपूर्तिभने गर्नुपर्नेछ । एलपीजी आयातबाट सरकारले २ अर्ब ८८ करोड ३७ लाख ७८ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

४. फलाम तथा स्टील आयात : नेपालमा फलामको खानी रहेको बताइए पनि त्यसको उत्खनन गर्न नसक्दा नेपालले वर्षेनी धेरै फलाम आयात गर्नुपरेको छ । चालु आवको ४ महिनामै ३७ करोड ७६ लाख ४१ हजार १ सय ३७ किलोग्राम फलाम तथा स्टील आयात गर्दा २३ अर्ब ३७ करोड ८३ लाख ५ हजार रुपैयाँ बाहिरिएको छ । यस वापत सरकारले ३ अर्ब ३७ करोड ८८ लाख ५३ हजार रुपैयाँ राजस्व पाएको छ ।

५. स्मार्टफोन : मन्दीका बाबजुद पनि चार महिनामा ७ लाख ७१ हजार ३ सय २६ वटा स्र्माटफोन भित्रिएको तथ्यांक भन्सार विभागले दिएको छ । स्मार्टफोन आयात वापत ११ अर्ब ५३ करोड ९ लाख ५ हजार रुपैयाँ बाहिरिएको छ भने सरकारले २ अर्ब १४ करोड ९२ लाख ३१ हजार रुपैयाँ राजस्व पाएको छ । सरकारले पछिल्लो समय विदेश भ्रमणमा गएका व्यक्तिहरुले विदेशमा फोन किनेर ल्याउँदा भन्सार तिर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

६. मेडिकल सामानहरु :मेडिकल सम्बन्धि विभिन्न सामानहरु ४७ लाख ६६ हजार २ सय ५९ किलोग्राम आयात गर्दा ४ महिनामा ८ अर्ब ७१ करोड ४५ लाख ८३ हजार रुपैयाँ बाहिर गएको छ । मेडिकल सामानहरुको भन्सार दर कम रहेका कारण सरकारी राजस्व भने ४५ करोड १४ लाख २५ हजार रुपैयाँ मात्रै रहेको छ ।

७. डाइमोनियम फोस्फेट : ९ करोड ८३ लाख १ सय ५० किलोग्राम रासायनिक पदार्थ आयात गर्दा ४ महिनामा नेपालले ८ अर्ब ६२ करोड १७ लाख ७४ हजार रुपैयाँ बाहिर पठाएको छ । अर्बौ रकम बाहिर पठाएको भए पनि यस वापत सरकारले भन्सारमा १२ हजार रुपैयाँ मात्रै चार्ज गरेको भन्सारको तथ्यांकले देखाएको छ ।

८.सुन : चालु आवको पहिलो चार महिनामा १ हजार किलो ५ सय ग्राम वैधानिक तवरबाट नेपाल भित्रिएको छ । यस वापत नेपालको ढुकुटीबाट ८ अर्ब २० करोड ८१ लाख ७० हजार रुपैयाँ रकम बाहिरिएको छ भने सरकारले १ अर्ब २३ करोड १२ लाख ३७ हजार रुपैयाँ राजस्व पाएको छ ।

९. हवाई इन्धन : चालु आवको पहिलो ४ महिनामा ६१ हजार ६ सय ६४ लिटर हवाइ इन्धन आयात भएको छ । यस वापत नेपालबाट ६ अर्ब ८४ करोड ३ लाख ४२ हजार रुपैयाँ रकम बाहिरिएको छ भने सरकारले ९० करोड ५ लाख ८ हजार रुपैयाँ राजस्व पाएको छ ।

१०.कच्चा भटमास तेल : नेपालले धेरै रकम खर्च गर्ने वस्तुहरु मध्ये दशौं नम्बरमा कच्चा भटमानस तेल पनि परेको छ । चार महिनामा नेपालले ५ अर्ब ७६ करोड ५८ लाख ७१ हजार रुपैयाँको ३ करोड ८० लाख ३ हजार १ सय ६८ लिटर कच्चा भटमासको तेल आयात गरेको छ ।

कच्चा भटमास तेल, कच्चा पाम तेल निर्यात गरेर प्रशोधन गरी भारत निर्यात गर्ने गरेकोमा पछिल्लो समय भारतले पाम तेल आयातमा भन्सार वृद्धि गरेका कारण नेपाल निर्यात व्यापार बढ्न सकेको छैन । नेपालले कच्चा भटमास तेल आयातबाट सरकारले १ अर्ब १७ करोड ५६ लाख २१ हजार रुपैयाँ राजस्व पाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स