किसानका पीडाः के खाएर बाँच्ने होला ?

भजनी । जानकी गाउँपालिका–८ का लालवीरे कामीले दशैंको पछिल्लो दिन आठ कामदार लगाएर दुई बिघामा लगाएको धान कटाए । प्रतिव्यक्ति ५०० का दरले उनले ज्याला व्यापत चार हजार तिर्नुप¥यो । उनले धान कटाए पनि भित्र्याउन भने पाएनन् ।

‘गत वर्षको भन्दा धान राम्रो थियो । यस वर्ष उत्पादन राम्रो हुन्छ भन्ने अपेक्षा थियो’, उनले भने, ‘खेतमा लगाएको एक दाना धान पनि भित्र्याउन पाइएन । सबै बाढीले बगायो । अब के खुवाएर परिवार पाल्ने ? आफूले के खाने ?’ टीकापुर नगरपालिका–३ शङ्करपुरका लक्ष्मण बस्यालले आकाशको पानी पर्दा थोरै भए पनि आशा जीवित रहेको जनाउँदै जमरा कुलोको बाढी खेतमा पसेपछि धानको एक मुठ्ठा पनि खेतमा नबचेको बताएका छन् । उनले जमरा कुलोमा लगाइएको बाँधका कारण पनि शङ्करपुर क्षेत्र बढी डुबानमा परेको जनाउँदै सम्झँदा आँखा रसाउने गरेको गुनासो गरे । ‘वर्षभरि खाने धान पूरै बगाएर लगिसक्यो अब हामीले के खाने ? किनेर खानसक्ने क्षमता छैन । हामी दिनभरि मजदुरी गरेर खाने मान्छे त्यसमाथिको अहिलेको महङ्गाइमा’, उनले भने, ‘खेत रोप्दा लागेको ऋृण पनि तिर्न सकेको छैन । कसरी ऋृण तिर्ने कसरी परिवार पाल्ने ? अहिलेको समयले निकै चुनौती दिएर गएको छ ।’

टीकापुरकै आशिष जनालाले पनि दशैंको पछिल्लो दिन तीन बिघा क्षेत्रफलको धान कामदार लगाएरै काटे । परिवारसँग दशैंको बेला रमाइलो गरेको उनका लागि अर्को दिनसम्म टिकेन । कोरोनाका कारण भारतमा मजदुरी गरेर परिवार पाल्ने उनी आफ्नै गाउँमा केही गर्नुपर्छ भनेर गाउँ फर्किएको बताए । उनले आफ्नो र आफ्ना अन्य परिवारको सबै जग्गामा खेती सुरु गरेको पहिलो वर्षमै समयले निकै ठूलो चुनौती दिएर गएको छ । ‘कोरोनाले परदेशबाट लखेट्यो । स्वदेशमा बदलिँदो मौसमले लखेट्दै छ’, उनले भने, ‘अब कता जाने ? कतै ठाउँ नै छैन । लागेको ऋण र परिवारलाई कसरी पाल्ने ? निकै अप्ठ्यारो मोडमा पुगिएको छ ।’

कर्णाली नदीले कटान गरेर बाढी गाउँमा पस्दा नगरपालिकाको सूर्यपुर, वसन्ता, बटनपुर, फाँटा, सत्ती, कर्मीडाँडा, सिमरेनी, अरुणाफाँटालगायतका गाउँमा बढी असर पारेको छ । सो क्षेत्रमा बढी मात्रामा खेती हुने गर्छ । केही वर्ष पहिले बाढीले निकै प्रभावित हुने सो क्षेत्रमा सात वर्षयता बाढी देख्नुपरेको थिएन । आकाशको पानी पर्दासम्म पराल नभए पनि धान बचाउन सकिन्छ कि भन्ने आशा किसानमा थियो । तर त्यो आशा पूर्णरूपमा निराशामा परिणत भयो । कर्णालीको उर्लँदो भेल खेतमा पसेपछि आफूहरु मुकदर्शक बन्नुबाहेक केही नभएको किसान सीताराम चौधरीले बताए ।

जग्गा भाडामा लिएर कुखुरा फार्म सञ्चालन गर्दै आएका लक्ष्मीप्रसाद अधिकारीको फार्ममा रहेका करिब ५०० कुखुरा बाढीले बगायो । आफ्नै देशमा केही गर्नुपर्छ भनेर लागेका उनको सपना बाढीले पूरा हुन दिएन । ‘सँगैका साथीहरु विदेश जानुपर्छ भनेर सधैं कर गर्थे । मैले आफ्नै देशमा केही गर्नुपर्छ भनेर सम्झाए पनि सबै साथीहरु विदेशमा राम्रो कमाउँदैछन् । आफूले ऋण जोहो गरेर जग्गा भाडामा लिएर फार्म सञ्चालन गरें त्यो पनि बाढीले बगायो’, उनले भने, ‘अब आफ्नो लगानी त टाढाको कुरा भयो जग्गा भाडा पनि कताबाट तिर्ने भन्ने चिन्ता छ ।’

टीकापुर र जानकी मात्रै हजारौं बिघा क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा नष्ट भएको छ । बाढी कटानले हुलाकी राजमार्गअन्तर्गत सत्ती नजिक झण्डै २०० मिटर बढी हुलाकी सडक कटान गरेको छ भने मोहना नदीमा निर्माण गरिएको तटबन्धसमेत भत्काएको छ । कर्णालीले पनि ठाउँठाउँमा तटबन्ध भत्काएर बाढी बस्तीमा पसेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स