काठमाडौं । पछिल्लो समय राष्ट्र बैंकले बैंकहरूलाई निश्चित नियमभित्र बसेर आफू खुशी आफ्ना बैंकहरूको आवश्यकता अनुसार कर्जा तथा निक्षेपको ब्याजदर घटाउन बढाउन स्वतन्त्रता दिएसँगै बैंकहरूमा एक किसिमको स्वतन्त्र कारोबारको सुरुवात भएको छ । पछिल्लो समय केहि बैंकहरूले ब्याजदर बढाएपनि अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन् ।
असार साउन महिनाबाटै निरन्तर ब्याजदर घट्दै आउनु पर्ने भएपनि बैंकहरूलाई स्वतन्त्र छाडिदिनाले अधिकांशले ब्याजदर घटाउँदा पनि एक दुई वटा बैंकले बढाउँदा बजारमा ब्याजदर अस्थिरता उत्पन्न भएको र उद्यमी व्यवसायीहरू अन्योलतामा रुमल्लिएको देख्न पाइन्छ ।
विगतसँग तुलना गर्ने हो भने २०७७ सालमा साढे ३ खर्ब निक्षेप बैंकिङ च्यानलमा हुँदा तत्कालिन गभर्नर र राष्ट्र बैंकले लगानीमैत्री वातावरणको लागि भनेर सस्तो ब्याजमा कर्जा प्रवाह गर्ने र २.५ प्रतिशतमै निक्षेपको ब्याजदर ल्याएको थियो । जसले गर्दा तत्कालिन समयमा जुनसुकै क्षेत्रमा पनि बिना अध्ययन अनुसन्धान लागनी गर्नाले अनुत्पादक तथा बिलासिताका सामानहरू आयात भइ छोटो समयमै अर्थतन्त्रले दवाव झेल्न पुगेको थियो ।
तर, हालको अवस्थामा करिब उक्त समयभन्दा सबै आर्थिक सूचकांकहरू राजस्वको वृद्धि वाहेक त्योभन्दा सुविधाजनक र सुधारिएको अवस्थामा अर्थतन्त्र रहेको छ । तर, राष्ट्र बैंकले नीतिगन संकुचन ल्याइदिँदा उद्योग व्यवसाय तथा घरजग्गा र सेयर बजार सबैतिर नीतिगत व्यवस्था कडाइ गरिदिँदा समग्र अर्थतन्त्र नै संकुचनमा आउन पुग्यो । हाल पनि उद्योगी व्यवसायी र लागनीकर्ताहरूको मागलाई सम्बोधन गर्न राष्ट्र बैंक बाहनाबाजी गर्दै आलटाल गरिरहेको छ ।
जसको कारण यति सहज परिस्थिति हुँदै गर्दा पनि उद्योगी व्यवसायी तथा लगानीकर्ताले सहजता महसुस गर्न पाएका छैनन् । हरेक पटक राजनीतिक खेलो फड्को झै राष्ट्र बैंकले सहज वातावरण सिर्जना गर्नमा अंकुश लगाइरहेकै छ ।
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा कार्तिक मसान्तभित्र आउनु पर्ने भएपनि मंसिरको पहिलो सातासम्म पनि आएन सकेको छैन ।
बैंकहरूमा निक्षेप थुप्रिएर बसेको छ । लागनीकर्ताहरू लागनी गर्न हतारिएर बसेका छन् । तर, राष्ट्र बैंक सहजीकरण गर्न अझै तयार देखिदैन । बैंकहरूलाई स्वतन्त्र छोडिदिएको हुनाले केहि विकास बैंकहरूले निक्षेप र ऋण प्रवाहको ब्याजदर घटाउँदै लगेका छन् । ११.५१ प्रतिशत बेसरेट भएको सांग्रिला डेभलपमेन्ट बैंकले १ प्रतिशत प्रिमियम थप गरि १२.५१ प्रतिशतमा कर्जा प्रवाह गर्न थालेको छ ।
यद्यपि बैंकले प्रवाह गर्ने कर्जा बेसरेटमै पनि दिन सक्ने छ । कतिपय कर्जामा भने कर्जाको प्रडक्ट र ग्राहक अनुसार पनि हुने सांग्रिला डेभलपमेन्ट बैंकले जनाएको छ । बैंकले आफ्ना पुराना असल ग्राहकलाई सो रेटमै कर्जा दिने म्यासेज समेत पठाएको छ ।
तर, पनि उद्योगी व्यवसायीहरूमा आत्मविश्वासको कमीले गर्दा सस्तो दरमै पनि ऋण लिनको लागि उद्योगी व्यवसायीहरू तत्पर देखिदैनन् । मंसिर महिनाको लागि समग्र बैंकहरूले ब्याजदर घटाएका छन् भने पुस महिनाका लागि पनि ब्याजदर घट्ने बैकर्स एसोसिएसनले बताइसकेको छ ।
राष्ट्र बैंकले ताकेकोे करिडोर सीमा अनुरुप लगानी गर्न लागि सहजता प्रदान नगर्दा अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन । अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरबीचको विगतको अर्थमन्त्री देखिको टकराव नयाँ अर्थमन्त्रीसम्म आईपुग्दा पनि अझै नसुल्झिएको उद्योगी व्यवसायीले आभास गरिनै रहेका छन् ।
रेमिट्यान्समा एतिहासिक वृद्धि, पर्यटन क्षेत्र २०७६/०७७ सालको जस्तै लयमा फर्किसकेको अवस्था हुँदा पनि लगानीकर्ता तथा उद्योगी व्यवसायीमा लगानी मैत्री वातावरण सिर्जना भएको आभास नहुँदा लगानीमैत्री वातावरण बन्न नसकेको हो । जसलाई सहजता प्रदान गर्न राष्ट्र बैंक अझै तयार भइसकेको छैन ।
जसले गर्दा अर्थतन्त्र उद्योगी व्यवसायीले चाहे अनुरुप चलायमान हुन सकेको छैन भने अर्थतन्त्र चलायमान नहुँदा सरकारलाई राजस्व पनि उठ्न सकेको छैन । यसैगरी ब्याजदर निरन्तर घट्दै गयो र राष्ट्र बैंकले केहि सहजीकरण गर्यो भने छिट्टै अर्थतन्त्र लयमा फर्कने अपेक्षा गर्न सकिन्छ ।