राष्ट्रपतिद्वारा क्यासीको ३७ औं सम्मेलन समुदघाटन

काठमाडौं । दिगो उद्यमशीलता र व्यापारमा जोड एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ को ३७ औं सम्मेलनमा दिगो उद्यमशीलता र व्यापारमा जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र परिसंघले आयोजना गरेको कार्यक्रम र समुदघाटन पछि सम्बोधन गदै राष्ट्रपति रामचन्द्र पौडेलले एसिया प्यासिफिक क्षेत्रको सदस्यकोरूपमा रहेको नेपालका लागि क्षेत्रीय व्यापार लगानी र संजाल निर्माणमा सम्मेलन कोशेढुंगा हुने बताए ।

एशिया प्रसान्त क्षेत्रका देशहरूसँग बलियोसम्बन्ध निर्माण गर्न यस्ता सम्मेलनले पुलको काम गर्ने पनि उनले स्पष्ट पारे । यस युगका चुनौतीको सम्बोधन र अवसरहरूको सदुपयोग गर्न यो सम्मेलन समय सापेक्ष र सान्दर्भिक रहेको बिचार राष्ट्रपति पौडेलको थियो । विश्व व्यापार परिदृश्यमा पङ्क्तिबद्ध र सकारात्मक परिवर्तन ल्याउन एसिया–प्रशान्त क्षेत्रका
उद्योग वाणिज्य संघहरुको भूमिका निर्णायक हुने बताए ।

राष्टपति पौडेलले नेपालमा लगानीको वातावरण सकारात्मक रहेकाले सम्मेलनमा सहभागि उद्यमी व्यवसायीहरुलाई एसिया प्रसान्त क्षेत्रको लगानी ल्याउन आग्रह पनि गरे । क्यासी एसिया प्रसान्त क्षेत्रका २६ देशका उद्योग वाणिज्य संघहरु सदस्य रहेको संस्था हो ।

काठमाडौंमा जारि सम्मेलनमा करिब ६० विदेशी उद्यमी व्यवसायीहरुको सहभागिता छ । कार्यक्रमका मुख्य वक्ता पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बढ्दो मध्यम वर्ग, उदीयमान उपभोक्ता बजार नेपालको सवल पक्ष रहेको भन्दै्र खुद्रा, उपभोग्य वस्तु र सेवालगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको वताए । यूवा जनसंख्याको बाहुल्यता रहेको नेपालमा लगानीको ठूलो अवसर रहेकाले क्यासी जस्ता मन्चहरुमार्फत लगानी, प्रविधि र विकासका अनुभव ल्याउन हाम्रो प्रयास हुनु पर्ने धारणा  उनले व्यक्त गरे ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेको अवसरलाई सदुपयोग गर्न सम्मेलनका सहभागीहरुलाई आग्रह गरे । नेपालमा नविकरणीय उर्जा, पर्यटन, पूर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रमा रहेको अपार सम्भावनाको सदुपयोग गर्दै यस क्षेत्रका जनताको जीवनस्तर सुधारमा क्यासी जस्ता संस्थाहरुको अर्थपूर्ण सहयोग नेपालले खोजेको बताए । सम्मेलनको प्रारम्भमा स्वागत मन्तव्य दिदै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दिगोपना, उद्यमशीलता र व्यापार, एशिया–प्रशान्त क्षेत्रको समृद्ध भविष्य सिर्जना गर्ने आधार रहेको बताए ।

भारत र बंगलादेशमा नेपाली विद्युत निर्यातको सम्भावना बढदै गएकाले यस क्षेत्रमा लगानी गर्न पनि उनले आग्रह गरे । क्यासीका उपाध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले नेपालले दोस्रो पटक सम्मेलन आयोजना गर्न पाएकोमा खुशी प्रकट गरे । दीगो एव वातावरण मैत्री उद्यमशीलता विकास, आर्थिक विकासका अनुभव आदान प्रदान गर्न र हाम्रा आर्थिक सम्बन्धहरु विस्तार गर्न सम्मेलन ऐतिहासिक हुने दावी उनको थियो ।

क्यासीका अध्यक्ष पिटर म्याकमुलिन एम ले क्यासीको ३७ औं सम्मेलन नेपालको विकास प्रयासमा सहयोगी हुने विश्वास दिलाए । नेपालमा लगानी, प्रविधि र विकास मोडललाई आकर्षण गर्न सम्मेलन कोशेढुंगा हुने उनले बताए ।

सम्मेलनले दिने निश्कर्ष नेपाल लगायत एशिया प्रशान्त क्षेत्रकै समृद्धिको लागि महत्वपूर्ण हुने दावी गरे । परिसंघ, एशिया प्रशान्त क्षेत्रभित्रका २६ देशका २८ वटा राष्ट्रियस्तरका उद्योग वाणिज्य महासंघ÷संघहरुको छाता संस्था हो । सम्मेलन भोली सम्म चल्ने छ । सम्मेलनको मुख्य थिम ‘चेम्वर्स अफ कमर्स हेल्पिङ विजनेश गेट सेट फर द फयूचर‘ रहेको छ । सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा आयोजना भएको हो ।

विश्व आर्थिक मन्चमा राम्रो पहिचान बनाउन सफल यस संस्थाको यसअघि २६ औं सम्मेलन महासंघको आयोजनामा काठमाडौंमा सम्पन्न भएको थियो । यस सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी व्यसायिक नेताहरु र नेपालका प्रतिष्ठित उद्यमी व्यवसायीहरु, सरकारी प्रतिनिधिहरु समेत गरी करिव २ सय भन्दा बढीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स