काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७८ करोड ७ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ९.४५ प्रतिशतले कम हो । गत वर्ष यसले ८६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले ४२ करोड ९५ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत छुट्याएको छ । गत वर्ष उक्त शीर्षकमा १२ करोड २७ लाख रुपैयाँ छुट्याएको थियो । यस वर्ष इम्पेरिमेन्ट चार्ज बढ्दा नाफामा असर परेको हो ।
नाफा घटे पनि बैंकको वितरण योग्य नाफा भने बढेको छ । यसको वितरणयोग्य नाफा ४ अर्ब ५२ करोड १० लाख रुपैयाँ रहेको छ । सो रकमबाट यसले ४२.२६ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।
बैंकको एनपीएल असोजसम्म ०.३३ प्रतिशतबाट बढेर ०.९० प्रतिशत पुगेको छ । यद्यपि बैंकको यो एनपीएल अन्य बैंकको भन्दा कम हो । खुद ब्याज आम्दानी भने ०.३२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिसम्म यस बैंकले १ अर्ब ८९ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको थियो । सञ्चालन नाफा भने ९.४५ प्रतिशतले घटेर १ अर्ब ११ करोड ५४ लाख कायम भएको छ ।
गत वर्ष उक्त नाफा १ अर्ब २३ करोड १८ लाख रुपैयाँ थियो । हाल एभरेष्टको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १० अर्ब ४६ करोड ८२ लाख रुपैयाँ जम्मा रहेको छ ।
यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १९ पैसा छ । यो वार्षिकीकरण हो । बैंकको प्रतिसेयर नेटवर्थ ४ रुपैयाँ ९८ पैसाले घटेर २४२ रुपैयाँ ३४ पैसा कायम भएको छ ।