काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब एक अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले असोज मसान्तसम्ममा ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
बैंकले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार यो नाफा गत आवको सोही अवधीको तुलनामा ६ करोड रुपैयाँले बढी हो । २०७९ असोज मसान्तसम्ममा बैंकको यस्तो नाफा जम्मा ९० करोड रुपैयाँ मात्रै थियो ।
यद्यपि बैंकको वितरण योग्य नाफा भने २७ करोड रुपैयाँले ऋणात्मक देखिन्छ । बैंकले पहिलो त्रैमासमा २ खर्ब एक अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने २ अर्ब २२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
१८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ८७ करोड रुपैयाँ छ । बैंकको प्रति सेयर आम्दानी २०.९८ रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिमा १९.६९ रुपैयाँ मात्रै थियो ।
बैंकको प्रति सेयर नेटवर्थ १५९.६९ रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा २.८४ प्रतिशत पुगेको छ जुन गत असोज मसान्तसम्ममा १.९० प्रतिशत मात्रै थियो । बैंकको आरओई १३.१९ प्रतिशतबाट बढेर १३.३४ प्रतिशत पुगेको छ ।
एनएमबिको सीडी रेसियो ८६.३९ प्रतिशत रहेको छ । बैंकको कस्ट अफ फण्ड ८.०५ प्रतिशत छ भने आधार ब्याजदर घटेर ९.८५ प्रतिशतमा झरेको छ । एनएमबिको स्प्रेड दर ३.९९ प्रतिशत कायम भएको छ ।