लाइफ इन्स्योरेन्समा एक्चुरीका कारण ठूलो समस्या, बीमा विज्ञ रविन्द्र भन्छन् –‘प्राधिकरणले शुल्क लिएपछि एक्चुरी हायर गरेर भएपनि सेवा दिनुपर्छ ’

काठमाडौं । बीमा व्यवसायमा पनि विशेष गरेर लाइफ इन्स्यारेन्समा एक्चुरीका कारण ठूलो समस्या देखिएको छ । अधिकांश जीवन बीमा कम्पनीहरूले अघिल्लो आर्थिक वर्र्षको साधारणसभा समेत गर्न पाएका छैनन् । एक्चुरीका कारण बीमा कम्पनीहरूले समयमै साधारणसभा गर्न नसकेका हुन् । एक्चुरी भ्यालुएसन समयमा नहुँदा जीवन बीमा कम्पनीका सेयरधनीले लाभांश पाउनको लागि कम्तीमा पनि ३ वर्ष कुर्न पर्ने देखिएको छ ।

एक्चुरियल भ्यालुएसन अर्थात् बीमकको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनमा अधिकांश कार्य रिजर्भ र प्रोभिजनसँग सम्बन्धित छ । जीवन बीमा कम्पनीको दायित्वको मूल्यांकन (एक्चुरियल भ्यालुएसन) विगतका धेरै वर्षदेखि हुन सकेको छैन । जसका कारण कम्पनीले वार्षिक साधारणसभा नै समयमा गर्न सकेका छैनन् ।

नेपालमा एक्चुरी नहुँदा सबै जीवन बीमा कम्पनीहरूले भारतीय एक्चुरीको भर पर्नु परेको छ । सोही कारण कम्पनीहरूले वित्तीय विवरण बनाएर पठाएपनि कतिपय समयमा एक्चुरीले ढिला गर्ने र कतिपय कम्पनीले कमिशन नमिल्दा एक्चुरीले नै अन्तिम अवस्थामा आएर छोडिदिनाले यसमा समस्यमा देखिएको हो । मर्जरमा गएका जीवन बीमा कम्पनीमा अझ त्यो समस्या बल्जिदो छ ।

बीमा ऐन, २०७९ को दफा ८७ मा उल्लेख भएबमोजिम बीमकले आर्थिक वर्ष सकिएको ३ महिनाभित्र लेखा परीक्षण गराउनु पर्नेछ । लेखापरीक्षण गराउन नसक्ने मनासिब कारण खुलाइ लेखापरीक्षण गराउने अवधि थपको लागि अनुरोध गरेमा प्राधिकरणले २ महिना थप गरिदिन सक्नेछ । लेखापरिक्षणको वासलात र नाफा नोक्सानको विवरण तोकिएको ढाँचामा प्राधिकरणमा बुझाउनु पर्ने ऐनमा उल्लेख गरेको छ ।

 

बीमा विज्ञ रविन्द्र घिमिरेले भने एक्चुरीको समस्या ठूलो नभएको बताए । बीमा प्राधिकरणले कम्पनीहरूलाई व्यवसाय गर्न सहज बनाउन तथा आम सेयरधनीलाई समयमानै प्रतिफल दिनको लागि कम्पनीको आवश्यकताअनुसार एक्चुरीहरू आफैले हायर गरेर सेवा दिनु पर्ने बताए ।

‘यो ठूलो विषय होइन, यो समस्यालाई ठूलो बनाइएको हो,’ उनले भने ‘समस्या देखाएर पन्छिने परिपाठी छ । सेवा शुल्क लिएपछि सुविधा पनि दिनु पर्ने हुँदा प्राधिकरण आफैले एक्चुरीको व्यवस्था गरिदिनुपर्छ ।’

देशमा सञ्चालित बीमा कम्पनीहरूको व्यवसायलाई कति जना एक्चुरी चाहिन्छ, त्यहि अनुसार हायर गरिदिए यो समस्या सदाको लागि हल हुने उनले बताए । समयमा एक्चुरी हुन नसक्दा विशेष गरी सबैभन्दा धेरै मर्का सेयरधनीलाई परेको उनले बताए । प्राधिकरणले २ खर्ब प्रिमियमबाट करिब डेढ अर्बजति सेवा शुल्क संकलन गर्छ ।

सो सेवा शुल्क लिएपछि सेवा पनि दिन पर्ने हो । प्राधिकरणले चाह्यो भने यो समस्या तत्काल हल गर्न सक्छ । एक्चुरीलाई हायर गरेर १० दिनभित्र एउटा कम्पनीको रिपोर्ट हेर भनेर लगानउ सक्ने उनको जिकिर छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स