नेपाल रत्न सुनचाँदी तथा रत्नआभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन, आज देशभरका सुनचाँदी पसल बन्द

काठमाडौं । नेपाल सुनचाँदी तथा रत्नआभूषण महासंघका अध्यक्ष रमेश महर्जन निधन भएको छ । एक साताअघि कोभिड–१९ संक्रमण भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार्थ भर्ना भएको महर्जनको हिजो सोमबार अपराह्न निधन भएको महासंघका उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले बताए । ‘हिजो दिउँसो उहाँको निधन भएको हो,’ उनले भने ‘उहाँ डब्बल भ्याक्सिनेट हुुनुहुन्थ्यो ।’

उनको निधनले सम्पूर्ण सुनचाँदी व्यवसायी स्तब्ध भएको उहाँको शोकमा आज नेपाल सुनचादी, रत्नआभुषण महासंघमा आवद्ध सबै सुनचाँदी पसल बन्द गरिएको छ ।’ महर्जनको आज बिहान १०.०० बजे आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

उनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै विवेकशील साझा पार्टीले शोक प्रस्ताव पारित गरेको छ । महर्जन पार्टीका केन्द्रीय सदस्य थिए । असामयिक निधनबाट सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको सो पार्टीले जनाएको छ । आज बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उनको निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

२०७४ सालमा तत्कालीन साझा पार्टी स्थापना हुँदा संस्थापक केन्द्रीय सदस्य रहेका महर्जन हाल विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य एवम् उद्यम तथा व्यवसाय विभाग प्रमुखका रूपमा सक्रिय थिए । गत स्थानीय तहको निर्वाचनमा उनलले पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाको नगर प्रमुख (मेयर) का लागि प्रतिस्पर्धा गरि सम्मानजनक मत प्राप्त गरेका थिए ।

२०७२ सालको महा–भूकम्पपछि उनले पाटनमा नेवाः वास्तुकलामा आधारित “पिलाछेँ पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजना” अन्तर्गत लगभग १०० वटा घरहरूको पुनर्निर्माणको परिकल्पना तथा नेतृत्व गरेका थिए ।

नेपाल श्रीलंका चेम्बर अफ कमर्सका अध्यक्ष समेत रहेका सफल व्यवसायी महर्जन डेढ दर्जन भन्दा बढी सामाजिक तथा व्यावसायिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स