सेयर बजार घाटाको नभई नाफाको सौदा, लगानी गर्दा यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं । पछिल्लो समय नेपालमा सेयर बजारमा आकर्षण बढ्दो छ । सिडिएस एण्ड क्लियरिको अनुसार नेपालमा ४५ लाख ३९ हजार डिम्याट खाता खोलिएको छ । डिम्याट खाता खोल्नेको संख्यामा वृद्धि भएसँगै सेयर कारोबार गर्नेको संख्यामा पनि वृद्धि भइरहेको छ । ३६ लाख ५२ हजार मेरो सेयर प्रयोगकर्ता छन् । कोभिड–१९ को कारण अन्य लगानी योग्य क्षेत्रमा लगानीको वातावरण निर्माण भइ नसकेकाले धेरैको रोजाइमा सेयर बजार परेको छ । सेयर बजार नाफा र घाटा दुवैको संयोजन हो । सेयर बजारमा छिर्ने सबैले नाफा मात्र कमाउछन् भन्ने हुँदैन । बढ्ने र घट्ने सेयर बजारको प्राकृतिक नियम हो । आफ्नो सेयर बढ्दा मात्तिने र घट्दा आत्तिनु हुँदैन । विचार तथा विवेक पुर्याएर सेयर बजारमा लगानी गर्नु पर्ने हुन्छ । सेयर बजारमा लगानीको निश्चित नियम हुन्छ भन्ने हुँदैन । तर केही कुरालाई मनन् गर्न सकिए सेयर बजारबाट हुन सक्ने घाटालाई कम गरी नाफा कमाउन सकिन्छ ।

राम्रो सेयर राखौं, कमजोर बेचौं

धेरै लगानीकर्ताहरु आफूले खरिद गरेको सेयरको मूल्य केही बढ्ने वित्तिकै बिक्री गर्न हतारो देखाउँछन् । यस्तो प्रवृतिले सेयरबाट ठूलो लाभ लिन सकिदैन । राम्रो कम्पनीको सेयर मूल्य बढ्यो भन्दैमा हतार गर्नु हुँदैन । राम्रो कम्पनीले लामो समयसम्म नाफा दिने गर्छ । बरु आफूसँग भएको कमजोर कम्पनीको सेयर बिक्री गरेर त्यसको लगानी पनि लङ टर्मका लागि राम्रो कम्पनीमा गर्न सकिन्छ । कमजोर कम्पनीको सेयर मूल्यको कुनै टुंगो हुँदैन । केही सिमित लगानीकर्ताहरु मिलेर काटेर्लिङ गरेर मूल्य बढाउन पनि सक्छन् । काटर्लिङ हुन सक्छ भन्ने आश गरेर खराब कम्पनीको सेयर राख्नु भननेको वेकुफी हुन सक्छ ।

तुलनात्मक रुपमा कमजोर कम्पनीको सेयर मूल्यको तुलनामा राम्रो कम्पनीको सेयर मूल्य केही बढी हुने गर्छ । मूल्य महँगो भए पनि सेयर भने राम्रो कम्पनीकै खरिद गर्नुपर्छ । राम्रो कम्पनीको थोरै सेयर किनेर लामो समयसम्म होल्ड गर्न सके सेयर बजारको विजेता बन्न सकिन्छ । त्यसकारण थोरै संख्यामा मात्र सेयर छ, मैले त के कमाउन सकूँला र ? भन्ने भ्रम पनि त्याग्नुपर्छ । राम्रो प्रदर्शन गरिरहेको सेयरलाई पनि नजरअन्दाज गर्नुहुन्न ।

आफ्नो विचारमा जुन सेयरले खराब प्रदर्शन गरिरहेको छ, त्यसलाई बेलैमा बिक्री गर्नु नै उचित हुन्छ । तर, कुनै सेयरबाट गुमाएँ भन्दैमा चिन्ता नगर्नुहोस्, कारण यसले तपाईंको अनुुभव र सेयर सम्बन्धी ज्ञानलाई बढाइरहेको हुन्छ । गुमाउँदाको अवस्थाबाट सिकेर अगाडि बढ्नु पनि एउटा महत्वपूर्ण शिक्षा हो ।

टिप्स माग्ने काम बन्द गर्नुहोस्

साथीभाई, छिमेकी, सेयर बजारका दलाल, विज्ञ, अन्य लगानीकर्तासँग सेयरको टिप्स माग्ने बानी छाड्नु होस् । तपाई कुनै सेयरमा किन लगानी गर्नुहुँदैछ भन्ने उत्तर आफैसँग हुन आवश्यक हुन्छ । त्यसकारण आफैले नै लगानी गर्न चाहेको कम्पनीको बिषयमा सक्दो अध्ययन गर्नु होस् । जुन कम्पनीको भविष्य राम्रो छ । त्यहा लगानी गर्नुहोस् । टिप्स र बजारका हल्ला वा कसैको सल्लाहको पछि लागेर सेयर किने डूबिन्छ । आफ्नो सम्पत्ति हो, आफै सोच विचार गरेर खरिद गर्नुपर्छ ।

यस्तो अवस्थामा तपाईंको अध्ययन र आत्मविश्वास ठूलो कुरा हो । कसैको सल्लाह अनुसार कुनै सेयरमा लगानी गर्नु जूवा खेल्नु बराबर हो । हो, कतिपय टिप्सले तपाईंलाई कहिलेकाही फाइदा पनि गर्ला, तर लङ टर्म लगानीकर्ताका लागि यस्ता टिप्सको भर पर्नुभन्दा बजारलाई आफैंले बुुझेको राम्रो हुन्छ । त्यसकारण बजारलाई नियाल्नुहोस्, र आफ्नो विवेक प्रयोग गरेर सेयर किन्नु तथा बिक्री गर्नु होस् ।

सेयर बजार लामो दौडको घोडा हो

पछिल्लो समय सेयर बजार बढ्दा धेरै लगानीकर्ताहरु छोटो समयको कारोबारमा रमाई रहेका थिए । थोरै थोरै नाफा पनि कमाइ रहेका थिए । तर, लामो समयको लगानीमा सफलता पाउन सानो–सानो रकममा बढी ध्यान दिनुहुँदैन । मिनेट मिनेटको बजार गतिविधि हेरेर त्यसबाट आफूले घाटा वा नाफा व्यहोरेको बिषयलाई ठूलो रुपमा लिनुहुन्न । लामो समयका लागि लगानी गर्नु भनेको केही वर्षका लागि लगानी हो ।

त्यसकारण बजारका मिनेट मिनेटका यस्ता गतिविधिमा अल्झिनुभन्दा यो समयमा बजारको बिषयमा आफूभित्रको ज्ञानलाई बृहत बनाउनतिर लाग्नुपर्छ । सानो रकम घाटा लाग्यो भन्दै चिन्ता गर्न थालियो भने नाफा कमाउनेतर्फ सोच्न सकिदैन । राम्रो कम्पनीको सेयरमा लगानी गर्न आत्मविश्वास बढाउनुहोस्, स्तरहीन सेयरमा लगानी गरी केही रकम डूूब्यो भन्दैमा निराश बन्नु हुँदैन । किन कि त्यसका कम्पनीको सेयरमा डुब्नका लागि नै लगानी गरिन्छ । स्तरीय सेयर लिनुभएको छ र आजको दिनमा केही रुपैयाँ घाटा भयो भने पनि त्यसले दीर्घकालमा तपाईलाई राम्रो रिटर्न दिनेछ ।

सस्तो मूल्यको सेयरलाई हेला नगर्नू

उदाहरणका लागि यदि तपाईंसँग २ सय रुपैयाँ प्रतिकित्ता पर्ने कुनै कम्पनीको सेयर छ र त्यसको मूल्यमा ५० प्रतिशत गिरावट आयो भने तपाईले प्रति कित्तामा १०० रुपैयाँ घाटा व्यहोर्नुपर्छ । तर यदि तपाईसँग २ हजार प्रतिकित्ताको सेयर छ र यसमा ५० प्रतिशत घाटा लाग्यो भने एकैपटक एक कित्तामा १ हजार रुपैयाँ गुमाउनुपर्छ । त्यसकारण, थोरै रकमको सस्तो सेयर भनेर हेला नगर्नु । आफ्नो पोर्टफोलियोमा यस्ता सस्तो सेयर पनि राख्नुपर्छ । यसले तपाईलाई एकैपटक डूूब्नबाट जोगाउँछ । हुन त सस्तो सेयर महंगो सेयर भन्दा बढी जोखिमपूर्ण हुन्छ, तर लगानी विविधिकरणमा यस्ता सेयर पनि राख्नुपर्ने हुन्छ ।

आफ्नै मौलिक सिद्धान्त बनाउनुहोस्

सेयरको छनौट र लगानीको निर्णय शैली मानिसका फरक फरक हुन्छन् । सफल बन्ने धेरै शैलीहरु छन् र एउटै शैली मात्र यसका लागि काफी वा ध्रुवसत्य भन्ने हुँदैन । त्यसकारण सेयर लगानीको क्रममा आफ्नो शैली पत्ता लगाउनुहोस् र त्यसमा आफूूलाई प्रतिबद्ध राख्ने प्रयास गर्नुहोस् । देखासिकी भन्दा पनि यथार्थपरक भएर यस्तो बेलामा सेयरको छनौट र लगानीको निर्णय लिनु लाभकर हुन्छ ।

भविष्यमा केन्द्रीत बन्नुुहोस्

लगानीको सबैभन्दा जटिल पाटो भनेकै कुनै पनि कम्पनीको सेयर वा समग्र सेयर बजारमा विगतमा के भयो भन्ने रिपोर्ट तथा विगतको आधारमा लगानीको निर्णय लिनु हो । त्यसकारण दिमागमा लगानीकर्ताले विगतका डेटाहरुलाई विश्लेषण गर्नु जति महत्वपूर्ण रुपमा लिनुपर्छ, भविष्यमा के हुन्छ भन्ने बिषयमा विश्लेषण गर्नु वा विचार गर्नु पनि उत्तिकै महत्वपूर्ण हुनुपर्छ ।
हिजोको दिनमा घटेकोले कुनै कम्पनीको सेयर नकिन्ने निर्णय लिनुु भन्दा पनि त्यसले भविष्यमा कस्तो प्रदर्शन गर्नसक्छ भन्ने सही विश्लेषण गरेर लगानीको निर्णय लिइए त्यसबाट चाहि लङ टर्ममा फाइदा पुुग्नेछ ।

विगत ५ वर्षको लाभांश हेर्नुहोस्

सेयर खरिद गर्नु भनेको कम्पनीको नाफाको हिस्सेदार हुनु हो । लामो समयसम्म सेयरमा लगानी गर्न चहाने लगानीकर्तालाई सेयर मूल्यले खासै असर गर्दैन । उनीहरुले ध्यान दिने भनेको आफूले खरिद गर्न लागेको कम्पनीले वार्षिक रुपमा कति नाफा बढ्छ भन्ने कुरालाई ध्यान दिन्छन् । राम्रो कम्पनीको सेयर मूल्य आज घट्यो भने भविष्यमा अवश्य बढ्छ । त्यसले गर्दा कम्पनी छनोट गर्दा कम्तिमा पनि विगत ५ वर्षको लाभांश हेर्नुपर्ने हुन्छ ।

कम्पनीले प्रत्येक वर्ष आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांशको दर बढाएको छ भने त्यो कम्पनी राम्रो हो भन्ने बुझ्नु पर्छ । त्यही कम्पनीको सेयरले तपाईलाई धनी बनाउँदै लग्छ । कम्पनीको लाभांश क्षमता प्रत्येक वर्ष घटिरहेको छ भने त्यो कम्पनीले राम्रो व्यापार गर्न सकेको छैन भनेर बुझ्नु पर्छ । राम्रो कम्पनीले राम्रो लाभांश दिन्छन् भने खराब कम्पनीले राम्रो लाभांश दिन सक्दैन । त्यसैले उच्च लाभांश दिने कम्पनीको सेयर खरिद गर्नु भविष्यका लागि राम्रो हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स