नवरात्रको नवौं दिन : मनोकामना पूरा गर्न सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको नवौं दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौं दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । घटस्थापना गरिएको स्थलमै नवौं सिद्धिदात्री देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ । सिद्धि दिने भएकैले नवौं देवीको नाम सिद्धिदात्री रहेको हो ।

नवरात्रका आठ दिनसम्म शैलपुत्री, ब्रहमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी देवीको पूजा आराधना गरेपछि आज नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । यी देवीबाट सबै प्रकारका सिद्धि पाइने धार्मिक विश्वास छ ।

सिद्धिदात्री देवीको स्वरुप
मुक्त हुन चाहनेहरुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध अर्थात् मोक्ष हुन चाहनेलाई मुक्ति दिन सक्ने भएकैले ती देवीको नाम सिद्धिदात्री रहेको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौं देवी मानिएकी छिन् । सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ ।

दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा संकटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ । नकारात्मक शक्तिबाट बच्नका लागि पनि नवदुर्गाको नाम स्मरणले सहयोग गर्ने नेपाल संस्कृत विश्व विद्यालयका सह प्राध्यापक श्रीराम सापकोटाले बताए ।

नवरात्रको पहिलो दिन असोज २८ गते आइतबार दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन असोज २९ गते सोमबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन असोज ३० गते मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौंथो दिन कात्तिक १ गते बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौं दिन कात्तिक २ गते बिहीबार स्कन्दमाताको पूजा आराधना गरियो । छैटौं दिन कात्तिक ३ गते शुक्रबार कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

सातौं दिन ४ गते शनिबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरियो । दुर्गा पक्षको आठौं कात्तिक ५ गते आइतबार महागौरी देवीको विशेष पूजा आराधना गरियो । दुर्गापक्षको नवौं दिन एवं नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजा आराधना गरिँदैछ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म आराधना गरिएकी देवीलाई कात्तिक ७ गते मङ्गलबार बिहान १०ः३७ बजे विसर्जन गर्ने साइत दिइएको नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स