बराहपोखरीबाट एक करोड ७५ लाखको खसी बिक्री

खोटाङ । दशैंतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट एक करोड ७५ लाख बढीको खसी काठमाडौं निर्यात भएको छ । खसीबाख्रापालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले आठ सय ७५ खसी काठमाडौं पुर्याएका छन् ।

एउटा खसीको सरदर मूल्य २० हजार मान्दा एक करोड ७५ लाखभन्दा बढी रकम पालिका भित्रिएको बराहपोखरी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख आशिष बञ्जराले जानकारी दिएका छन् । खसी खरिदका लागि ठेकेदारको समूह गाउँपालिकाका छवटै वडाका किसानको घर–घरमा पुगेका थिए ।

दशैंतिहारका अवसरमा घरैमा खसी बिक्री हुँदा कतिपय एकैघरका किसानले पाँच–छ लाखसम्म हात पारेका छन् । कतिपय किसानले एउटै खसी ८० केजी तौलसम्मका बिक्री गरेका छन् । किसानबाट खरिद गरिएको खसीलाई ठेकेदारले धाप्लाङघाटस्थित सुनकोसी पार गराएपछि आठवटा ट्रक र दुईवटा बोलेरोमा हालेर अन्यत्र लगेका थिए । उनीहरुले खसीलाई धाप्लाङघाटसम्म हिँडाएर पुर्याएका थिए ।

कतिपय खसी यही कात्तिक १ गते बिहान र कतिपय खसी कात्तिक २ गते बिहान काठमाडौं पुर्याएको पशु सेवा शाखा प्रमुख बञ्जराले जानकारी दिएका छन् । कतिपय किसानले आफैं उदयपुरको गाईघाटमा लगेर खसी बिक्री गरिरहेका छन् ।

दश स्थानीय तह रहेको जिल्लाबाट यस वर्षको दशैंतिहारका अवसरमा करोडौं मूल्य बराबरको खसी निर्यात भएको बाख्रापालन व्यवसायी संघ खोटाङले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो समय व्यावसायिकरूपमा बाख्रापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स