९ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच उल्लेख्यरूपले बढ्ने गरी कार्य गर्न बीमा कम्पनीहरूलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशमा ९ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच उल्लेख्यरूपले बढ्ने गरी कार्य गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

नेपाल बीमा प्राधिकरणबाट यही कात्तिक १ गते बुधबार मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाममा आयोजित बीमा कम्पनीका प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुख तथा सरोकारवाहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले बीमा ऐन, नियमावली, निर्देशिका र निर्देशनहरूको पूर्ण पालना गर्दै स्वच्छ व्यवसाय गर्न बीमकहरूलाई निर्देशन दिए ।

बीमा कम्पनीका कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि प्राधिकरणले इस्योरेन्स इन्स्टिच्युट नेपाल ९क्ष्क्ष्ल्० लाई तालिम संचालन गर्न लगाउने जानकारी दिनुहुँदै अध्यक्ष सिलवालले स्थानीय आवश्यकता अनुरूपको नयाँ बीमालेख ल्याउनका लागि केन्द्रीय कार्यालयसँग आग्रह गर्न, बैंक र बीमा फरक हुन् भन्ने बारेमा सबैलाई बुझाउन र त्रुटी नहुने गरी काम गर्न बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूलाई निर्देशन दिए ।

अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरूसँग समन्वय गरेर कार्य गर्न निर्देशन दिँदै बीमाका सिद्धान्त विपरित बीमा व्यवसाय नगर्न र दाबी भुक्तानीमा समस्या नआउने गरी प्रस्तावको पर्याप्त विश्लेषण गरेर बीमा गर्न समेत निर्देशन दिए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रति जनविश्वास बढ्ने गरी कार्य गर्न र स्वच्छ प्रतिस्पर्धाका आधारमा व्यवसाय गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूले सुशासन कायम गर्दै गुनासो नआउने गरी काम गर्नुपर्ने बताए । कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बी.के. महर्जनले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीका कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिम आयोजना गर्नुपर्ने, केन्द्रीय कार्यालयले निश्चित अधिकार प्रत्यायोजन गर्नुपर्ने, प्राधिकरणबाट हालै जारी गरिएको सम्पत्ति बीमा निर्देशिकामा धेरै सुधार भए पनि केही विषयहरू अझै स्पष्ट पार्नुपर्ने, कोरोना बीमाको बाँकी दाबी भुक्तानी गर्न ढिलाई गर्न नहुने लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा मधेश प्रदेशस्थित बीमकका प्रदेश कार्यालय, शाखा कार्यालय र उपशाखा कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरू र सरोकारवालाहरू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स