काठमाडौं । विश्व लगानीकर्ता सप्ताह-२०२३ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडकोे सहकार्यमा २ दिने सेयर लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । उक्त तालिम कार्यक्रम असोज २० गते शनिबार तथा असोज २१ गते आईतबारका दिन आयोजना गरि सम्पन्न गरिएको हो ।
प्रभु क्यापिटलले आयोजना गरेको यो २ दिने जनचेतनामूलक तालिम कार्यक्रम कास्की जिल्लाको ग्रामीण भेग बिरेठाटीका सर्वसाधारणहरुका लागि, प्रभु बैंक लिमिटेडको पोखरा एरियाका शाखाका शाखा प्रमुख सहित कर्मचारीहरुको लागि र पोखरा थकाली समाजका अग्रज तथा युवावर्गलाई लक्षित गरी गरिएको थियो, जसमा बिरेठाटीमा करीब १२० जना सर्वसाधारणहरु, प्रभु बैक लिमिटेडका करीब २५ जना तथा थकाली समाजका ५० भन्दा बढी अग्रज तथा युवावर्गको सहभागिता भएको थियो ।
उक्त तालिम कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक शंकर प्रसाद रिमाल, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सहायक प्रबन्धक तथा सूचना अधिकृत सुरेश न्यौपानेको सहभागीता भएको थियो भने उक्त कार्यक्रमको समन्वय प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर तथा कम्पनी सचिव बासु थपलियाले गरेका थिए । प्रभु क्यापिटलको कोष व्यवस्थापनका स्कीम म्यानेजर सौगात पन्तले लगानी सम्बन्धी जानकारी प्रदान गरेका थिए ।
प्रशिक्षणमा नेपाल धितोपत्र बोर्डका निर्देशक शंकर प्रसाद रिमालले धितोपत्र बोर्डको स्थापना देखि हालसम्मको जानकारी, सेयर बजार, प्राथमिक तथा दोश्रो बजार सम्बन्धी आधारभुत कुराहरु, नियमाक निकायको सेयर सम्बन्धी धारणा, सेयर बजारमा उपलब्ध भएका उपकरणहरुको जानकारी, कम्पनीहरुको आधारभूत तथा प्राविधिक विश्लेषणका सम्बन्धमा सामान्य जानकारी, लगानी विविधीकरण, लगानीकर्ताको हकहितमा सेबोनको भूमिका, बेबसाईट मार्फत गुनासोको व्यवस्था रहेको थियो ।
सिडिएस एण्ड क्लियरिङका सहायक प्रबन्धक तथा सूचना अधिकृत सुरेश न्यौपानेले आस्बा, सिआस्बा, मेरो सेयर एप सम्बन्धी जानकारी, आईपीओमा आवेदन गर्दा ध्यानदिनु पर्ने कुराहरु, ईडीआईएस तथा केन्द्रिकृत केवाईसीको सम्बन्धमा जानकारी, भौतिक प्रमाणपत्रको डिम्याट गर्ने प्रक्रिया, सेयर लगानी गर्दा आफनो अवस्था विश्लेषण गरी लगानी गर्ने जस्ता विषयमा प्रकाश पारेका थिए ।
त्यसैगरी प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको योजनाहरुको योजना व्यवस्थापक सौगात पन्तले पोर्टफोलियो व्यवस्थापन तथा सामूहिक लगानी कोष तथा लगानीमा हुने जोखिम व्यवस्थापन सम्बन्धी विषयहरु समेटेका थिए ।
कार्यक्रमका सहभागी सदस्यहरुले वर्तमान सेयर बजारमा लगानीकर्ताहरुको प्रवेशका लागि आवश्यक विषयहरु समेटि गरिएको यो तालिम ज्यादै उपयोगी रहेको तथा सेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस्तो प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।
प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ भने यो विश्व लगानीकर्ता सप्ताह International Organization of Securities Commission (IOSCO) को आव्हानमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा सेयर लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाईने गरिन्छ ।