काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले कर्मचारीहरुको भत्ता १८.६ प्रतिशतले बढाएको छ । बैंकको अस्ति बिहीबार बेलुका बसेको सञ्चालक समिति बैठकले बैंकमा कार्यरत सबै कर्मचारीको भत्ता बढाउने निर्णय गरेको हो ।
कर्मचारी युनियनले तलब तथा भत्ता बढाउन दबाब दिएपछि राष्ट्र बैंकले विभिन्न शीर्षकमा समानुपातिका हिसावले भत्ता बढाउने निर्णय गरेको हो । राष्ट्र बैंकमा ३ वटा कर्मचारी युनियन छन् । उनीहरूको दवाव र हरेक दुई वर्षमा कर्मचारीको तलब तथा भत्ता वृद्धि गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ । कोभिडपछि अर्थतन्त्रमा देखिएको मन्दीका कारण खर्च कटौती गर्ने सरकारी नीति भएकाले दुई वर्षदेखि राष्ट्र बैंकका कर्मचारीको पनि तलव भत्ता बढेको छैन ।
खर्च कटौति गर्ने सरकारको नीति भएपनि दुई वर्षदेखि तलब भत्ता नबढेकाले भत्ता बढाउन दबाब परेको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंक कर्मचारीलाई राम्रो सेवा सुविधा दिने संस्थामा अग्रस्थानमा पर्छ । राष्ट्र बैंकले केन्द्रिय बैंक भत्ता, खाना भत्ता, पोशाक भत्ता, दैनिक भ्रमण भत्ता, होटल खर्च भैपरी आउने खर्चलगायतका भत्तामा सो १८.६ प्रतिशतले वृद्धि गरेको हो । सो भत्तामध्ये केन्द्रीय बैंक भत्ता, खाजा भत्ता र पोशाक भत्ता चालु आवदेखिनै लागू हुनेछ भने अन्य भत्ता भ्रमणमा गएको समयदेखि लागू हुने राष्ट्र बैंक बोर्ड बैठकले निर्णय गरेको छ ।
कर्मचारी युनियनले तलब भत्ता बढाउनको लागि रविन्द्र पाण्डेको नाममा समिति गठन गरेको थियो । सो समितिले २३ प्रतिशत तलव तथा भत्ता बढाउन सिफारिस गरेपनि बोर्डले देशको अवस्थाको कारण तलब बढाउन नमिल्ने भन्दै सिफारिस कमिटीले सिफारिस गरेको भन्दा घटाएर भत्ता बढाएको हो । २३ प्रतिशत भत्ता बढाउँदा २३ करोड २५ लाख रुपैयाँ व्यायभार थपिने देखिएको थियो । अहिले घटेका कारण व्ययभार पनि घट्ने देखिएको छ । राष्ट्र बैंकमा १ हजार १ सय कर्मचारी छन् ।