राष्ट्र बैंकले थाल्यो नयाँ कामःतिहारपछि नोटबाट ब्रिकेटको व्यवसायिक उत्पादन शुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारपछि झुत्रा तथा काम नलाग्ने अवस्थामा पुगेका पुराना नोटबाट ब्रिकेट बनाउने भएको छ । झुत्रा नोटबाट ब्रिकेट बनाउन राष्ट्र बैंकले देशका विभिन्न ४ स्थानमा मेशिनसमेत जडान गरिसकेको छ । राष्« बैंकका कार्यालय भएका बाँकी स्थानमा सो मेशिन जडान गर्ने तयारीमा राष्ट्र बैंक रहेको छ ।

मेशिन जडान गरेका काठमाडौं, विरगञ्ज, विराटनगर तथा नेपालगञ्जबाट ब्रिकेटको परीक्षण उत्पादन समेत शुरु भइसकेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवती नेपालले बताए । ‘अहिले मेशिनबाट ब्रिकेट बनाउँदा केही प्राविधिक समस्या आएकोले दशैं पछाडि भारतबाट प्राविधिक आएर त्यसको निरीक्षण गर्ने त्यसपछि ब्रिकेट बनाउन शुरु हुनेछ,’ उनले भने ‘जनकपुर, पोखरा, धनगढी, भैरहवामा पनि १ महिनाभित्र मेशिन जडान हुँदैछ ।’ चार वटा मेशिन बाटोमा आउँदै गरेको पनि उनले जानकारी दिए ।

राष्ट्र बैंकले परीषणकालमै २ हजार केजी ब्रिकेट उत्पादन गरिसकेको छ । एउटा मेशिनले १ दिनमा एक सय केजी ब्रिकेट उत्पादन गर्ने समेत उनले जानकारी दिए । राष्ट्र बैंकले अब छिट्टै ८ ठाउँबाट ब्रिकेट बनाउन शुरु गर्ने छ । राष्ट्र बैंकले ३० लाख ५२ हजार ८६९ युरो (करिब ४ करोड रूपैयाँ) हालेर नेदल्याण्डबाट ब्रिकेट बनाउन ८ वटा मेसिन नै खरिद गरेको हो ।
जडान भइसकेको मेशिनबाट प्राविधिकले परीक्षण गरेपछि ब्रिकेट बनाउने काम शुरु भएपनि नयाँ जडान गर्नुपर्ने स्थानबाट भने कात्तिक अन्तिमसम्म उत्पादन हुने बताइएको छ । मेशिन जडान गर्न कम्तीमा पनि १५ देखि २० दिन लाग्नेछ । यसरी हेर्दा ढिलोमा पनि मंसिरको शुरू देखि नोट ब्रिकेट बनाउने काम अघि बढ्छ ।

‘झुत्रा नोट जलाउने प्रक्रियालाई आधुनिकीकरण गर्दै मेसिनबाट २ मिलिमिटरको नापमा बनाइएको टुक्रा नोटलाई जलाएर डल्लाको रुप दिइन्छ । त्यो नै ब्रिकेटको रूप हो,’ कार्यकारी निर्देशक नेपालले हाम्रोअर्थलाई भने ‘तिहारपछि हामी मेशिन जडान भएका ठाउँबाट ब्रिकेट उत्पादन शुरु गछौं ।’ अन्य स्थानमा पनि कात्तिक अन्तिमसम्म ब्रिकेट बनाउने काम शुरु हुनेछ ।’

राष्ट्र बैंकसँग अहिले जलाउने तयारीमा २० हजार केजी नोट रहेको छ । यस्ता नोट दिनहुँ थपिने गर्छन । एउटा मेशिनलाई २ हजार केजी परीक्षण उत्पादनको लागि आवश्यक पर्ने भएकोले अब जडान गर्ने नयाँ मेशिनको लागि करिब ८ हजार केजी झुत्रा नोट छुट्याएर राख्नु पर्ने देखिएको छ ।

कार्यकारी निर्देशक नेपालका अनुसार राष्ट्र बैंकले विभिन्न दरका झुत्रा नोटको २ सय बण्डल पुगेपछि जलाउने गरेको छ । वर्षमा १५० दिनजति नोट जलाउने गरेकाले सोही अनुपातमा ब्रिकेट उत्पादन हुने पनि उनले जानकारी गराए । मेशिन सञ्चालन गर्दा एक पटकमा २ घण्टाको लागि पुग्ने गरी घान हाल्नु पर्ने भएकोले सोही अनुसार व्यवस्थापन मिलाएको समेत उनले बताए । ‘प्रत्येक वर्ष ४० अर्ब जतिको नोट जलाएर खरानी बन्ने गरेकोमा अब यसबाट ब्रिकेट बनेपछि केही आम्दानी हुने राष्ट्र बैकले जानकारी दिएको छ ।

उत्पादित ब्रिकेट बिक्री गर्नको लागि केही इँटा भट्टाहरूसँग छलफल भइरहेको पनि उनले बताए । सो ब्रिकेट ठूलो परिमाणमा इँटा भट्टा वा थोक विक्रेतालाई ब्रिक्री गर्ने योजना राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट छाप्दा कति हुन्छ खर्च ?

राष्ट्र बैंकले विभिन्न दरका नोट छाप्दा १ रुपैयाँ ४० पैसादेखि ४ रुपैयाँ ६८ पैसासम्म खर्च हुने जनाएको छ । नोटमा प्रयोग गरिएको सेक्युरिटी फिचरको आधारमा छपाइको पैसा निर्धारण हुने पनि उनले बताए । ‘जति सुरक्षाका फिचर थप्छौं, त्यतिकै नोट छपाइ खर्च लाग्छ ।’ राष्ट्र बैंकले हरेक ३ देखि साढे ३ वर्षको अवधिमा नयाँ नोट छाप्ने गरेको छ ।

नोटेको आयु

पहिलो, ५०० र १००० रुपैयाँ दरका नोटको आयु सरदर साढे ३ वर्ष हाराहारीको हुन्छ भने पाँचदेखि १०० रुपैयाँ दरका नोटको आयु सरदर साढे दुई वर्षको हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

जलाएर नष्ट गर्दा पनि पैसा नै खर्च हुने भएकोले राष्ट्र बैंकले उत्तम र इनोभेटिभ उपायको रुपमा झुत्रा नोटबाट बिक्रेट बनाउने तयारी शुरु गरेको छ । नोटलाई जलाएर त्यतिकै नष्ट गर्नुभन्दा ब्रिकेट बनाएर उपयोग गर्दा यसबाट समेत केही आम्दानी हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स