नेपाल बैंकमा सीईओ खाली, अधिकारी बाहिरिएपछि पन्तले पाइन जिम्मेवारी

काठमाडौं । देशकै इतिहास बोकेको नेपाल बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद खाली भएको छ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी आफ्नो ४ वर्षे कालकाल सम्पन्न गरी बैंकबाट औपचारिक रुपमा बाहिरिएपछि बैंकमा सीईओ खाली भएको हो ।

वि.सं.२०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त अधिकारीलाई नेपाल बैंक बोर्डले नदोहोराउने निर्णय गरेपछि उनी आफ्नो ४ वर्षे कार्यकाल पुरा गरी बैंकबाट बाहिरिएका छन् । आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले अधिकारी बाहिरिएसँगै कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी समता पन्तलाई दिएको बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए ।

‘हिजो साझ बसेको बोर्ड समितिको बैंकको बैठकले नायव प्रमुख कार्यकारी प्रमुख (डीसीईओ)पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको छ,’ उनले भने ‘अर्को सीईओ नियुक्त नभएसम्मका लागि उहाँलाई सो जिम्मेवारी दिइएको हो ।’ बैंकको विभिन्न जिम्मेवारीमा रहि दुई दशक बढिको बैंकिङ अनुभव सँगालेकी पन्तले एम.बि.एससम्मको अध्ययन गरेकी छिन् ।

हिजो साँझ बसेको बोर्ड बैठकले अर्को सीईओको लागि आवेदन माग गर्ने निर्णय भने नगरेको कम्पनी सचिव भण्डारीले बताए । ‘बैंकको अब बस्ने बोर्ड बैठकले सीईओ नियुक्तिका लागि आवेदन माग गर्नेछ,’ उनले भने ‘हिजो नयाँ सीईओ नियुक्तिको विषयमा कुरा भएन ।’

बैंकका सञ्चालक समितिको यसअघिको बैठकले नै सदस्य आनन्द काफ्लेको संयोजकत्वमा तीन सदस्यीय सीईओ छनोट समिति गठन गरिएको छ । हुन न त नेपालमा सीईओ बन्ने क्षमता भएका धेरै छन् ।

को को हुन सक्छन् प्रत्यासी ?
त्यसो त बैंकमा सीईओ बन्ने क्षमता र योग्यता भएका कर्मचारी छन् । तर, सरकारले नियुक्त गर्ने भएकोले सरकारको नजिक भएकाले सो बैंकको नेतृत्व लिने चर्चा सुरु भएको छ । नेपाल बैंकमा कामु सीईओको जिम्मेवारी पाएकी पन्तसहित नेपाल बैंकबाटै अन्य ३ जनाले पनि सो पदका लागि आवेदन दिन सक्ने बुझिएको छ ।

बैंकका चिफ क्रेडिट अफिसर लक्ष्मण पौडेल, चिफ अपरेटिङ अफिसर विश्वराज बराल, चिफ एड्मिनिटेडिभ अफिसर प्रकाश कुमारी अधिकारी र चिफ फाइनान्स अफिसर होमवहादुर खड्का पनि सीईओ पदका लागि प्रत्यासी बन्ने सम्भावना देखिएको छ ।

नेपाल बैंकमा हिजोबाट सीईओको कार्यकाल सकिएर बाहिरिएका अधिकारी नेपाल बैंककै प्रडक्ट हुन् । बैंकको त्यो अभ्यासले पनि बैंकभित्रबाटै सीईओ बन्ने सम्भावना पनि प्रवल देखिएको छ । त्यसो त पछिल्लो केहि वर्ष अघि निजी बैंकमा समेत आफ्नै प्रडक्टलाई सीईओ बनाउने अभ्यास सुरु भएको छ । सिटिजन्स इन्टरनेशल बैंकबाट राजनसिंह सीईओबाट बाहिरिएपछि अहिले गणेश पोखरेल सीईओ बनेका छन् । सानिमा बैंक, एनएमबि बैंकमा पनि त्यस्तै अभ्यास सुरु भएको छ ।

नेपाल बैंकको सीईओ लागि बाहिरबाट पनि त्यतिकै आकांक्षी हुने देखिएको छ । बजारमा नाम चलेका निजी बैंक चलाएर एउटा उचाइमा पुर्याइसकेका प्रोफेसन सीईओहरू पनि खाली भएको नेपाल बैंकको सीईओ बन्नका लागि बाहिरबाट पनि आवेदन पर्ने देखिएको छ । यसका साथै बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिशन प्रक्रियामा गएपछि धेरै सीईओ जागीर गएर अन्य पेशामा बसिरहेका छन् । उनीहरूको लागि पनि यो ठूलो अवसर हुन सक्ने देखिएको छ ।

चार्टर्ड एकाउन्टेन संघ आइक्यानका पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्य, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जीवी चापागाईं, डा. केशवप्रसाद श्रेष्ठलगायतले नेपालको सीईओका लागि आवेदन दिने बुझिएको छ ।

२०७६ मा खुला प्रतिस्पर्धाबाट सीईओमा नियुक्त भएका अधिकारीले १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै बैंकको सीईओमा नियुक्त भएका थिए । उनको कार्यकालमा नेपाल बैंकले फड्को मारेको छ । कुनै समय ठूलो नोक्सानी व्यहोरेको नेपाल बैंक पछिल्लो समय वाणिज्य बैंकहरुबीच एक अब्बल बैंकका रुपमा स्थापित भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स