महसुल नबुझाउने १ हजार ८३३ ग्राहक कालोसूचीमा

काठमाडौं । लामो समयदेखि विद्युत् महसुल नबुझाउने एक हजार ८२३ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर बक्यौता असुल्न कारबाही अघि बढाएकोे हो ।

कार्यालय प्रमुख अवधेश दुबेका अनुसार कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते विवरण यकिन गर्न कर्मचारीको टोली परिचालन गरिएको छ । टोलीले यकिन गरेपछि ग्राहकमाथि थप कारबाही अघि बढाइने प्रमुख दुबेले बताए । कालोसूचीमा रहेका ग्राहकबाट ७ करोड ६५ लाख ५६ हजार सात सय ६३ बक्यौता रकम उठाउन बाँकी रहेको कार्यालय प्रमुख दुबेको भनाइ छ ।

लामो समयदेखि वर्षा नहुनु, बढ्दो गर्मी र पर्सा–बारा करिडोरका औद्योगिक क्षेत्रका उद्योगमा विगतको भन्दा कम विद्युत्को उपयोग हुनुजस्ता कारणले आर्थिक वर्ष २०७९/०८० मा विद्युत् चुहावट शून्य दशमलव पाँच प्रतिशतले बढेको छ ।

गत आव २०७८/०७९ मा विद्युत् चुहावट ४.९८ प्रतिशत रहेकामा आव २०७९/०८० मा ५.०३ प्रतिशत विद्युत् चुहावट भएको प्रमुख दुबेले जानकारी दिए । उनका अनुसार आव २०७९/०८० मा विद्युत् महसुल नबुझाउने दुई हजार चार सय ६८ ग्राहकको विद्युत् लाइन काट्दा एक हजार नौ सय छ ग्राहकबाट ११ करोड ४० लाख ७२ हजार छ सय १५ बाँकी बक्यौता रकम असुली भएको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जका इन्जिनियर निर्मला फौजदारले बताए ।

सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ७१ जनालाई पक्राउ गरी जरिवानाबापत रु १२ लाख २४ हजार सात सय २४ राजस्व संकलन भएको इन्जिनीयर फौजदारले जानकारी दिए । आव २०७९/०८० मा दुई हजार चार सय ४२ नयाँ ग्राहक थपिएको छ । यो सँगै वीरगन्ज क्षेत्रमा ग्राहकको संंख्या ५४ हजार दुई सय तीन पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स