काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सूचीकृत भएको छ । बुधबार कम्पनीको १०० अंकित दरका कुल ३ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा संस्थापक समूहको २ करोड ६२ लाख ५० हजार कित्ता (७० प्रतिशत) र सर्वसाधारण समूह (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित)को १ करोड १२ लाख ५० हजार कित्ता (३० प्रतिशत) रहेको छ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १७२.४३ रुपैयाँ र अधिकतममा ५१७.२९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । नेप्सेले कम्पनीलाई ‘सीएलआई’ कारोबार संकेत प्रदान गरेको छ।
कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि बिहीबार इन्द्रजात्राको सार्वजनिक विदा र पर्सी शुक्रबार परेकोले उक्त कम्पनीको सेयर आइतबारबाट कारोबारमा आउने छ।
योसँगै, अब कम्पनीको सेयर आइतबारको स्पेसल प्रि-ओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।