बनेपा । व्यावसायिकरूपले कडकनाथ (कालो कुखुरा) पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आएका छन् । हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा टिपेर व्यवस्थापनमै उनको दिन बित्दै आएको छ ।
विष्टको फार्ममा दैनिक २०० अण्डा उत्पादन भइरहेको छ । त्यसबाट हप्तामा करिब एक हजार चल्ला उत्पादन हुने र त्यसलाई प्रतिचल्ला २०० का दरले बिक्री हुँदै आएको छ । ‘यो जातको कुखुरामा प्रोटिन बढी हुने, चिल्लो नहुने र शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले बजारमा माग धेरै बढेको छ । अब जिल्लाभर कडकनाथलाई विस्तार गर्ने योजनामा छु ।’ उनले भने, ‘पहिलोपटक भएकाले परीक्षणको रुपमा गरिएको र अब बृहत्रुपमा गर्दैछु ।’ यसअघि बजारमा चल्ला बिक्री भइसकेको, मासुका लागि बजारमा तीन हजारदेखि तीन हजार ५०० सम्ममा कुखुरा बिक्री हुने गरेको र भाले कुखुरा भने फार्मबाटै उहाँले प्रतिगोटा रु दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री हुँदै आएको छ । व्यक्तिगत सम्बन्धदेखि सामाजिक सञ्जालमार्फत पनि कडकनाथ विक्री भइरहेको व्यवसायी विष्टले बताए ।
अमर भूमण्डली बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर जिल्लामा नै पहिलो पटक व्यावसायिक कडकनाथ पाल्न सुरु गरेका उनले मासु र अण्डा उत्पादनका साथै चल्ला बिक्री वितरण गर्ने उद्देश्यले सो व्यवसाय थालनी गरेको बताए । फार्ममा अहिले ६०० मलेसियन कडकनाथ जातको कालो कुखुराका साथै ब्रोइलर कुखुरा, बाख्रा र गाईसमेत पालिएको छ । अहिले फार्ममा ५०० कुखुरा छ । आठ महिना अगाडि चितवनबाट चल्ला ल्याएर पाल्न थालिएकामा अहिले अण्डा उत्पादन गरी त्यसबाट चल्ला निकालेर बिक्री गर्ने तयारीमा रहेको व्यवसयी विष्टको भनाइ थियोे । नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्लाको सचिवालय सदस्यसमेत रहेका उनी पार्टी राजनीतिमा पनि सक्रिय रहनाका साथै व्यवसायलाई पनि उत्तिकै समय दिँदै आएका छन् ।
विष्टले गिरिराज कुखुरा २००, लोकल कुखुरा ५०÷६०, चार गाई र दश बाख्रा पनि पाल्दै आएका छन् । चरापालन व्यवसायलाई अगाडि बढाउन ‘वर्ड पार्क’ निर्माण गर्नाका साथै रिसोर्टसमेत सञ्चालन गरेर पर्यापर्यटनको रुपमा विकास गर्दै अगाडि बढ्ने योजनाका साथ काम गरिरहेको उनले बताए ।