बैंकले लोन नदिएका कारणले अर्थतन्त्र चलायमान भएन भन्ने भ्रम होः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले लोन नदिएका कारणले अर्थतन्त्र चलायमान भएन भन्ने भ्रम भएको बताएका छन् । शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।

‘अहिले बैंकले लोन नदिएका कारणले अर्थतन्त्र चलायमान भएन भन्ने गरिएको छ, बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो ?’ उनले भने ।

उनले बैंकहरूले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन् ।

बैंकहरुको कर्जा प्रवाह मुलुकको कुल गार्हस्थ उत्पादन भन्दा धेरै भइसक्दा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको उनले बताए । अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकको कर्जा प्रवाह बढ्ने गरेको भन्दै उनले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुन्छ भन्ने भ्रममा बस्न नहुने बताए ।

विश्वका केन्द्रीय बैंकहरु पछिल्लो समय अर्थतन्त्रलाई स्थायित्व दिन र मूल्यवृद्धि नियन्त्रणका लागि नीतिगत रुपमा कडाइका साथ उभिएको गभर्नर अधिकारीले बताए ।

‘राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक तथ्यांकलाई नै बेलाबेलामा सैद्धान्तिक अभ्यासले चुनौती दिने गरेको छ’, उनले भने । ‘यहाँ सिद्धान्तलाई चुनौती दिने अभ्यास भइरहेको हुन्छ । जुन वर्ष धेरै मनी सप्लाइ हुन्छ । त्यो वर्ष थोरै मूल्यवृद्धि भएको उदाहरणहरु छन्उ । ‘राष्ट्र बैंकको तथ्यांक र प्रणालीले कयौं ठाउँमा सिद्धान्तलाई च्यालेज गर्छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स